प्रधानमन्त्री बालेन्द्र शाहको विगतको र्याप ब्याटलमा प्रयोग भएका असंवेदनशील शब्द हटाउन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले माग गरेको छ। ती सामग्री हटाउन तथा सार्वजनिक रूपमा स्वीकारोक्ति र माफी माग्न दबाब दिँदै समुदायले संस्थागत रूपमा पहल थालेका छन्। यस क्रममा उनीहरूले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईसँग सहयोगसमेत मागेका छन्।
पहिलो संविधानसभा सदस्य सुनिल बाबु पन्तले प्रधानमन्त्रीले प्रयोग गरेका शब्द सच्याउनुपर्ने मात्रै आफ्नो माग रहेको बताए। उनका अनुसार यस्ता शब्द सामान्य बन्ने खतरा रहेको भन्दै राज्य नेतृत्वबाट संवेदनशीलता आवश्यक छ। उनले उक्त सामग्री पछिल्ला घटनाक्रमपछि मात्र हेरेको उल्लेख गर्दै महिलाहरू र अल्पसंख्यक समुदायप्रति प्रयोग भएका शब्द अत्यन्त असंवेदनशील रहेको बताए।
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका प्रतिनिधि बाबु दुमी राईले पुरानो विषय भए पनि यसबारे समुदायले पहिलेदेखि नै आवाज उठाउँदै आएको बताए। उनका अनुसार अहिले प्रधानमन्त्रीसँग जोडिएपछि मात्र विषय व्यापक रूपमा बहसमा आएको हो। समुदायको मुख्य माग प्रतिशोध नभई गल्ती स्वीकार गरी सार्वजनिक रूपमा माफी माग्नुपर्ने रहेको उनले स्पष्ट पारे।
राईका अनुसार यस्ता शब्दले समुदायमाथि गहिरो सामाजिक र मानसिक असर पार्ने गरेको छ। बाल्यकालदेखि नै अपमानजनक शब्दको प्रयोगका कारण शिक्षा, रोजगार र सामाजिक अवसरबाट वञ्चित हुनुपर्ने अवस्था रहेको उनले बताए। राज्य संयन्त्रभित्र पनि अझै विभेद कायम रहेको उनको आरोप छ।
यस विषयमा साइबर ब्युरोमा निवेदनसमेत दर्ता गरिएको पन्तले जानकारी दिए। तर निवेदनपछि समुदायमाथि सामाजिक सञ्जालमा गाली–गलौज र दुर्व्यवहार बढेको गुनासो पनि गरिएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष राईले विषयबारे आश्चर्य व्यक्त गर्दै समुदायको मागलाई सान्दर्भिक र जायज बताएका छन्। उनले सामाजिक सञ्जालमा हुने आक्रमणप्रति चिन्ता व्यक्त गर्दै सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै, कसैले कसैलाई अपमान गर्न नहुने र सबैलाई सम्मानपूर्वक बाँच्ने अधिकार रहेको उनले उल्लेख गरे।
समुदायका प्रतिनिधिहरूले पुरानो सामग्री भए पनि त्यसले निरन्तर असर पारिरहेको भन्दै हटाउनुपर्ने र नेतृत्व तहबाट आत्मालोचना हुनुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार यो केवल व्यक्तिगत अभिव्यक्ति नभई समावेशी समाज निर्माणसँग जोडिएको संवेदनशील विषय हो।
प्रकाशित: ८ वैशाख २०८३ १७:५२ मंगलबार





