त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा शुक्रबार एउटा फरक प्रकारको कार्यक्रम भएको छ, त्यो हो विदेशबाट नेपाल आउने पर्यटकहरुलाई स्वागत। विदेशबाट नेपाल भित्रिएका पर्यटकहरुलाई स्वागत त धेरैले धेरैपटक धेरै हिसावले गरे होलान् तर शुक्रबारको स्वागतको अर्थ भने वेग्लै थियो। जेनजी आन्दोलनपछि नेपाल घुम्न जानका लागि असुरक्षित छ भन्ने अन्तर्राष्ट्रिय जगतमा व्याप्त भ्रमलाई चिर्न कार्यक्रम गरिएको दाबी आयोजकको छ।
पर्यटनलाई नेपालको गौरव र राष्ट्रिय पहिचानको रूपमा संरक्षण गर्ने उद्देश्यले जेनजी २.० (सबै पुस्ताको सारथी) राष्ट्रिय अभियानले कार्यक्रम गरेको हो। “नेपाल सधैं सबैका लागि खुला छ” भन्ने सन्देशसहित विशेष कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा ४० जनाभन्दा बढी सहभागीहरूलाई फूलमाला र स्वागत–स्मृति चिन्हहरू प्रदान गर्दै प्रतीकात्मक रूपमा स्वागत गरिएको थियो। यो स्वागत केवल औपचारिक नभई नेपालले हरेक आगन्तुकलाई आत्मीयतासाथ स्वागत गर्ने संस्कृतिको प्रतीक मानिएको छ।
आयोजकले भनेको छ, नेपालको पर्यटन क्षेत्रले करिब ७ लाख ५० हजार नेपालीको रोजगारी बोकेको छ। पछिल्ला केही दिनमा केही तत्वहरूले “मुभमेन्ट” को नाममा असुरक्षाको वातावरण सिर्जना गर्ने प्रयास गरेपछि जेनजी २.० अभियानले यो भ्रम हटाउन “नेपाल सधैं खुला छ” भन्ने राष्ट्रिय सन्देश अघि सारेको हो। अभियानले स्पष्ट भनाइ दिएको छ,“नेपाल कहिल्यै बन्द हुँदैन । हामी अतिथि देवो भवःको भावना बोकेको राष्ट्र हौं । पर्यटकको सुरक्षा हाम्रो संस्कृतिको अभिन्न हिस्सा हो।”
४० भन्दा बढी सहभागीहरूको स्वागत, उनीहरुलाई फूल, माला र प्ले–कार्डमार्फत “नेपाल ओपन फर अल” सन्देश, जेनजी, वाई र जेड पुस्ताको संयुक्त सहभागिता, सबै पुस्ताले सुरक्षा र स्वागतको साझा जिम्मेवारी लिने संकल्प कार्यक्रमको विशेषता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले एउटै आवाजमा सन्देश दिए, “नेपाल खुला छ, सुरक्षित छ, र सधैं स्वागतमा तयार छ।” यो अभियानले केवल पर्यटनको सन्देश होइन, राष्ट्रको एकता र विश्वसनीयताको पुनर्जागरणको प्रतीक बनेको आयोजकको विश्वास छ।
जेनजी २.० का परिकल्पनाकार तथा संरक्षक डा.हरि कार्कीले कार्यक्रममा भने, “यो केवल एक अभियान होइन, राष्ट्रिय चेतना हो। नेपाललाई विश्व समुदायमा सुरक्षित, खुला र सकारात्मक पहिचान दिने हाम्रो साझा जिम्मेवारी हो।” अहिलेको अभियानलाई उनले “एकता, सुरक्षा र गौरवको नारा”को रूपमा परिभाषित गरे। डा. कार्कीकै परिकल्पनामा यसअघि पनि चार वटा राष्ट्रिय आन्दोलनसमेत सफलतापूर्वक सम्पन्न भइसकेको कार्यक्रममा जनाइयो।
आगामी योजनाका रुपमा जेनजी २.० अभियानले देशका प्रमुख शहरहरूमा जस्तै “सेफ टुरिजमः ओपन नेपाल” अभियान सञ्चालन गर्ने तयारी गरेको जनाएको छ। साथै, सरकारले पर्यटन क्षेत्रका लागि स्पष्ट सुरक्षा ग्यारेन्टी सार्वजनिक गर्नुपर्ने माग पनि अघि सारेको छ।
प्रकाशित: ३१ आश्विन २०८२ १७:०२ शुक्रबार





