१० फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

‘जेन-जी’ प्रदर्शनले बनेपामा १० करोडको क्षति

गत भदौ तेस्रो साता भएको ‘जेन-जी’ प्रदर्शनका क्रममा तोडफोड एवं आगजनीबाट बनेपा नगरपालिकामा करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ। नगर कार्यालयले गरेको प्राविधिक मूल्याङ्कनमा उक्त रकम बराबरको क्षति भएको जनाइएको हो।

प्रदर्शनका क्रममा नगरको तीनतले मुख्य प्रशासनिक भवन, योजना शाखा र प्राविधिक शाखा रहेको भवन पूर्ण रूपमा क्षति भएको नगरले जनाएको छ। नगरको मूल्याङ्कनअनुसार तीनतले प्रशासनिक भवनको पहिलो तलामा रहेको सभाहल, प्रशासकीय अधिकृतको कार्यकक्ष, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, प्रशासन, सहकारी तथा सामुदायिक विकास, राजस्व, जिन्सी, दर्ता चलानी शाखा, पुरुष र महिला शौचालय तथा शाखाका कार्यकक्षभित्र रहेका महत्त्वपूर्ण अभिलेख तथा दस्तावेज पूर्ण रूपमा नष्ट भएको छ। विसं २०४३ मा निर्माण भएको उक्त मुख्य भवनको ह्रासकट्टीसहितको प्राविधिक मूल्याङ्कनमा ५ करोड ४२ लाख ५४ हजार ४८७ रुपैयाँ क्षति भएको जनाइएको हो।

त्यसैगरी, दोस्रो तलामा रहेका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, गोप्यकक्ष, सचिवालय कक्ष, न्यायिक समितिको इजलास कक्ष, कानुन, शिक्षा, लेखा शाखा र दुईवटा शौचालय जलेर पूर्ण रूपमा नष्ट भएको प्राविधिक मूल्याङ्कनमा उल्लेख गरिएको छ। यस्तै तेस्रो तलामा रहेको आन्तरिक लेखा परीक्षण, जिन्सी गोदाम कक्ष र लेखा शाखाका सबै अभिलेख रहेको कक्षसहित सबै सामग्री जलेर नष्ट भएको जनाइएको छ।

योजना र प्राविधिक शाखा रहेको भवनका सबै शाखा तथा कार्यकक्ष र त्यहाँका सम्पूर्ण सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्। सुरक्षा गार्ड र स्तनपान कक्ष रहेको भवनभित्रका सबै शाखा पनि जलेर नष्ट भएको उल्लेख गरिएको छ। मिनीट्रक ४९ लाख ५० हजार रुपैयाँ, तीन ट्याक्टरको ४५ लाख रुपैयाँ, एक टिपरको २५ लाख ९० हजार रुपैयाँ, एक मोटरसाइकलको १ लाख ४२ हजार ९०० रुपैयाँ, दुई कारको २३ लाख रुपैयाँ, एक जीपको ५ लाख ८ हजार २६८ रुपैयाँ, पाँच साइकलको ५० हजार रुपैयाँ क्षति भएको छ। डेक्सटप कम्प्युटर सेट ४४, ल्यापटप १६, ट्याबलेट १४, २१ मोबाइल, ५३ प्रिन्टर, डिजिटल क्यामेरा तीन, भिडियो क्यामेरा एक, टेलिभिजन तीनलगायत ६१ प्रकारका सामानको मूल्य ८ करोड २२ लाख ४९ हजार ५३१ रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ।

त्यस्तै, खर्च भएर जाने १४९ प्रकारका जिन्सी सामान जलेकामा १४ लाख ६० हजार रुपैयाँ क्षति भएको जनाइएको छ। विपद् प्रकोप व्यवस्थापनसम्बन्धी सम्पूर्ण सामग्री, सहरी तथा वातावरणीय सुधार परियोजनाका सामग्री तथा पुरातात्विक सामानसमेत पूर्ण रूपमा जलेर नष्ट भएका छन्। पुरातात्विक सामान पितलको कोपडा, चार धलौटका घण्टी, सिला भएको सूर्यनारायणको मूर्ति, ढुङ्गाको शिलापत्र, ढुङ्गाको मुखुण्डो, धलौटको सिनमुलगायत सामग्री चोरी भएको उल्लेख गरिएको छ।

नगर कार्यालय तोडफोड, आगजनी तथा लुटपाटमा संलग्नको पहिचान गरी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई लिखित जानकारी गराएको नगरप्रमुख शान्तिरत्न शाक्यले बताए। हाल बनेपा १० नं वडा कार्यालयमा नगर कार्यालय व्यवस्थापन गरी सेवा प्रवाह गरिएको छ।

प्रदर्शनका क्रममा काभ्रेमा विभिन्न १८ सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्याइएको छ। विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी तथा लुटपाट गरी क्षति पुर्याइएको हो। ‘जेन-जी’ आन्दोलनका क्रममा यहाँका चार जनाले काठमाडौंमा ज्यान गुमाएका छन्। रासस

प्रकाशित: १२ आश्विन २०८२ ०८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App