नेपाल प्रहरीले जेन-जी आन्दोलनको अध्ययन र अनुसन्धानका लागि भन्दै छुट्टै समिति बनाएको छ। प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौरको संयोजकत्वमा समिति गठन गरेका हुन् । एआईजी राठौर अपराध अनुसन्धान विभागका प्रमुख हुन् ।
समितिले जेन-जी आन्दोलनका क्रममा भएका सम्पूर्ण घटनाको स्थलगत अध्ययन र अनुसन्धान गर्नेछ । प्रहरी कार्यालयमा भएको आगजनी र तोडफोड, हतियार र बर्दी लुटपाट, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालयसहित देशैभर भएका आगजनी र तोडफोडबारे अध्ययन र अनुसन्धान गर्ने कार्यादेश समितिलाई दिइएको छ ।
समितिलाई एक महिनामा प्रतिवेदन बुझाउन भनिएको छ । एआईजी राठौरले आफ्नो अनुकुल हुने गरी समितिमा सदस्य थप्नेछन् । समितिले तत्काल काम सुरु गर्ने छ ।
प्रकाशित: १२ कार्तिक २०८२ १४:५९ बुधबार





