जेन-जी पुस्ताका नाममा यही भदौ २४ गते भएको तोडफोड र आगजनीबाट देशभरका विभिन्न क्षेत्रका ६२९ भवन पूर्ण रूपमा क्षति भएको छ। उक्त आन्दोलनमा एक हजार ५६० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको छ।
आन्दोलनका समयमा भएको तोडफोड र आगजनीका कारण ती भवनहरूमा क्षति भएको नेपाल प्रहरीले प्रारम्भिक विवरण संकलन गरेको प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बताए।
उक्त आन्दोलनमा नेपाल प्रहरीका मात्र १७७ भवन पूर्ण रूपमा क्षति भएको छ। प्रहरीका २५८ भवनमा आंशिक क्षति भएको प्रवक्ता घिमिरेले बताए। घिमिरेले तोडफोड र आगजनीबाट ३१० सरकारी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ। प्रारम्भिक विवरणमा जम्मा ८३६ सरकारी भवनमा आंशिक क्षति पुगेको छ।
यस्तै ९७ व्यापारिक र निजी भवन पूर्ण रूपमा क्षति भएको र २९२ व्यापारिक र निजी भवनमा आंशिक रूपमा क्षति पुगेको छ।
यस्तै विभिन्न राजनीतिक दलका ४५ पार्टी कार्यालय पूर्ण क्षति भएको छ भने १७४ कार्यालयमा आंशिक क्षति भएको प्रहरीले संकलन गरेको विवरणमा छ। उनले मूल्यांकन भने अझै भएको छैन र क्षतिको विवरण संकलनको काम भने जारी भएको बताए। रासस
प्रकाशित: ४ आश्विन २०८२ ०८:१९ शनिबार





