कोशी प्रदेश विभिन्न जिल्लामा प्रहरीका ५७ वटा भवनमा आगजनी र तोडफोडका कारण क्षति पुगेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनका क्रममा प्रदेशका ५७ वटा प्रहरीका भवनमा आगजनी र तोडफोड भएको हो ।
तोडफोड भएका मध्ये २४ वटा भवन आन्दोलनका क्रममा पूर्ण क्षति भएको प्रदेश प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दीपक पोख्रेलले बताए । उनका अनुसार ३३ वटा प्रहरीका भवनहरूमा आंशिक क्षति पुगेको छ । अहिले प्रहरीले क्षतिग्रस्त भवनको मात्रै तथ्यांक संकलन गरेको उनले बताए । भवनमा भएका, फर्निचर, कम्प्युटरलगायतका भौतिक सामाग्री, कागजपत्रको क्षतिको बिबरण संकलन नभइसकेको उनले जानकारी दिए । क्षति भएका भवनहरूमा झापा, मोरङ र सुनसरीमा धेरै क्षति भएको छ । झापामा २२, मोरङमा १८ र सुनसरीमा १४ वटा प्रहरीका भवनमा क्षति पुगेको छ ।
आन्दोलनका क्रममा अराजक समूहले उत्पात मच्चाउँदा ८४ वटा प्रहरीका सवारी साधनमा पूर्ण रूपले क्षति पुगेको छ । तीमध्ये ७९ वटा पूर्ण क्षतिग्रस्त भएको छ भने ५ वटामा सामान्य क्षति पुगेको छ ।
क्षति भएका मध्ये ८ वटा हेभी सवारी साधन रहेका छन् । यस्तै प्रहरीले चढ्दै आएको २२ वटा लाइट भ्यान आन्दोलनमा पूर्ण रूपमा क्षति पुगेको छ । बाँकी मोटरसाइकल रहेको प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा ढुङ्गा मुढा प्रहारबाट कोशी प्रदेशमा १ सय जना १४ जना प्रहरी घाइते भएका छन् । घाइते भएका मध्ये ६ जनाको अहिले पनि उपचार भइरहेको छ । ती मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । एकजना आइसीयुमा उपचाररत रहेका छन् ।
यस्तै प्रदर्शनकारीहरू ४६ जना घाइते भएका छन् । प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालय भन्दा मुनिका प्रहरीका कार्यालयहरू विस्थापित भएका थिए । प्रदर्शनकारीले आगजनी, तोडफोड र आक्रमण जारी राखेपछि प्रहरीहरू समेत भागेका थिए । प्रवक्ता पोख्रेलले भने,‘ घटनापछि विस्थापित भएका प्रहरी युनिटहरूको पुनस्र्थापना भइरहेको छ ।’ प्रहरीले प्रदेशका सबै कार्यालयबाट सेवा प्रबाह थालिसकेको पोखरेलले जानकारी दिए ।
यस्तै नेपाल प्रहरी बाहेक ट्राफिक प्रहरीका १२ वटा भवनमा पनि आन्दोलनकारीले क्षति पु¥याएका छन् । प्रादेशिक ट्राफिक प्रहरी कार्यालय इटहरीमा पनि प्रदर्शनकारीले क्षति पु¥याएका छन् । विराटनगर स्थित बालसुधारगृहबाट फरार भएका मध्ये ३० जना अझै पक्राउ नपरेको प्रहरीले जनाएको छ ।
प्रकाशित: ३१ भाद्र २०८२ २०:५२ मंगलबार





