भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट कोशी प्रदेश सरकार मातहतका ४२ वटा भवन क्षतिग्रस्त भएको छ । कोशी प्रदेश सरकारले सार्वजनिक गरेको प्रारम्भीक विवरणअनुसार प्रदेश मातहतका मन्त्रालय र कार्यालयहरू गरी प्रदेशभरका ४२ वटा भवन क्षतिग्रस्त भएको हो ।
आन्दोलनका क्रममा कोशी प्रदेशमा भवन र सवारी साधनतर्फ राज्यको सम्पत्तिमा ठूलो नोक्सानी भएको पाइएको छ । यस आन्दोलनबाट कोशी प्रदेश सरकार मातहत रहेका प्रदेशभरका ४२ वटा भवन क्षतिग्रस्त बनेका छन् । जसमध्ये १८ वटा भवन पूर्ण क्षतिग्रस्त छन् भने २४ वटा भवनमा तोडफोड भई आंशिक क्षति पुगेको छ ।
आन्दोलनकारीले प्रदेश सरकारको २ सय ३७ वटा सवारी साधनमा क्षति पु¥याएका छन् । जसमा ७५ वटा चारपाङ्ग्रे सवारी साधनमा क्षति पुगेको छ । त्यसमध्ये ६४ वटा चारपाङ्ग्रे सवारी साधन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने ११ वटामा आंशिक क्षति भएको छ । यसैगरी १ सय ६१ वटा मोटरसाइकलमा क्षति पुगेको छ । तीमध्ये १ सय ४४ वटा मोटरसाइकल पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने १७ वटामा आंशिक क्षति पुगेको छ ।
यसैवीच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त मुख्यमन्त्री कार्यालयको आज अनुगमन तथा निरीक्षण गरेका छन् । अनुगमनपछि प्रदेश सरकारका सचिव तथा उच्च पदस्थ कर्मचारीहरूसँग छलफल गर्दै मुख्यमन्त्री कार्कीले कर्मचारीहरूलाई त्रासमुक्त भएर काममा फर्कन र दशैंअघि नै कार्यालय सञ्चालनको सम्पूर्ण व्यवस्थापन मिलाउन निर्देशन दिएका छन् । कार्कीले मंगलबारदेखि प्रदेश सरकार सञ्चालनमा आएको घोषणा गर्दै असोज २ गते मन्त्रिपरिषदको बैठक बसेर थप निर्णयहरु गर्ने जानकारी दिए ।
प्रकाशित: ३१ भाद्र २०८२ १९:२९ मंगलबार





