मकवानपुरको भीमफेदी गाउँपालिकामा आफूलाई ‘जेन-जी’ आन्दोलनको सदस्य बताउँदै सवारी साधन रोकेर चालकमाथि कुटपिट गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा भीमफेदी गाउँपालिका वडा नं-१ बस्ने २२ वर्षीय अमिर रुम्बा रहेका छन्। उनलाई सोही गाउँपालिकामा पर्ने सानुटार याङराङपुलबाट बुधबार राति नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार बुधबार राति करिब १० बजेको समयमा रुम्बाले अन्य केही व्यक्तिहरुसँग मिली उक्त स्थानमा जेन-जी को सदस्य भएको भन्दै सडकमा आवतजावत गर्ने सवारी साधनहरुलाई रोकेका थिए।
विशेषगरी तरकारी तथा कृषिजन्य उत्पादन बोकेका ढुवानीका साधनहरुलाई गैरकानुनी रुपमा रोकी चालकहरुलाई कुटपिट गर्नुका साथै अश्लील शब्द प्रयोग गरी दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ।
पीडित चालकहरुको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले रुम्बालाई पक्राउ गरेको हो। घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको र पक्राउ परेका रुम्बामाथि थप अनुसन्धान तथा आवश्यक कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
प्रकाशित: २३ आश्विन २०८२ १५:०९ बिहीबार





