प्रहरीले गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङलाई पुनः पक्राउ गरेको छ।
धाकधम्की दिएको आरोपमा उनलाई काठमाडौंको टोखास्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।
परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार गुरुङले कसैलाई धम्की दिएको उजुरी परेपछि प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
यद्यपि, प्रहरीले कसलाई र के विषयमा धम्की दिएको भन्नेबारे विस्तृत जानकारी खुलाएको छैन।
नुवाकोट घर भएका गुरुङ गुण्डागर्दी र कुटपिटका घटनामा पटक-पटक पक्राउ पर्ने र छुट्ने गर्दै आएका व्यक्ति हुन्।
यसअघि उनी गत साउन १५ गते ठमेलको एक दोहोरी साँझमा झगडा गरेको आरोपमा पक्राउ परेका थिए।
उनको आपराधिक इतिहास लामो छ। उनी २०६७ सालमा गोंगबुमा भएको हतियार प्रहार, २०७६ मा बैंकिङ कसूर र २०७७ मा पेस्तोल देखाएर कुटपिट गरेको घटनामा समेत संलग्न रहेको प्रहरीको अभिलेख छ।
पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १९ आश्विन २०८२ २०:१९ आइतबार





