१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
समाज

जेन-जी आन्दोलनमा ज्यान गुमाएका असहाव आलमको अन्त्येष्टि

गत मंगलबार काठमाडौंमा भएको जेन-जीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका असहाव आलमको शनिबार वीरगन्जमा अन्त्येष्टि गरिएको छ।

पर्साको वीरगन्ज महानागरपालिका-१२ मुर्लीका २२ वर्षीय असहाव आलमको अन्त्येष्टि मुर्लीमै मुस्लिम रीतिरिवाज अनुसार गरिएको हो।

मंगलबार जेन-जी आन्दोलका क्रममा प्रहरीको गोली लागि ज्यान गुमाउन पुगेका आलमको शवलाई काठमाडौंबाट  शुक्रबार राति मुर्लीस्थित घरमा ल्याइएको थियो। आलमको अत्येष्टिमा मुस्लिम समुदायका साथै हिन्दुहरू पनि सहभागिता रहेको थियो।  

मंगलबार बिहान १० बजेदेखि सम्पर्कविहीन बनेका आलमलाई खोजबिन गर्दा उनको शव काठमाडौंको महारागञ्जस्थित शिक्षण अस्पतालमा भेटिएको थियो। छाति र पेटमा गरेर दुई गोली लागेका छोरालाई बिनाकारण किन मारिएको भन्दै उनकी आमा नजला खातुनले प्रश्न गरिन्।

आलम विगत तीन वर्षदेखि अध्ययन तथा रोजगारीका सिलसिलामा काठमाडौंमा बस्दै आएका थिए। दुई महिनाअघि मात्रै वैवाहिक बन्धनमा बाँधिएका आलमले काठमाडौंमा अध्ययनका साथै पठाओमा राइडरको काम समेत गर्दै आएका थिए।

मंगलबार जेन-जीको प्रदर्शन भइरहेका बेला आलमले पठाओबाट एक यात्रुलाई गोङ्गबु लिएर जाँदै गर्दा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाउनु पुगे।

वीरगन्जको ग्लोबल बिजनेस कलेजबाट व्यवस्थाापन संकायमा कक्षा १२ उत्तीर्ण गरेका आलम स्नातक अध्ययनका लागि काठमाडौं गएका थिए।

प्रकाशित: २८ भाद्र २०८२ १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App