एशिया र यूरोपका विभिन्न मुलुकमा घुमाउन लैजाने भनेर प्रलोभन देखाएर ठगि गरेको आरोपमा कास्की प्रहरीले पोखराको ‘ओएसिस टुरिज्म इन्टरनेशनल’का संचालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एकजना नेपाली र अर्का एकजना भारतीय नागरिक रहेका छन्।
पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका–१२ बस्ने २६ वर्षिय विवेक रेग्मी र भारतको कर्णाटक राज्यको महेश्वर जिल्लाको शान्तिनगर बसोबास गर्ने ३० वर्षिय मोहम्म यासिर रहेका छन्। कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका–५ पस्र्याङस्थित पुष्पेन्द्र कोइरालाको घर भाडामा लिई उनीहरुले कार्यालय संचालन गरेका थिए।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानका अनुसार उनीहरुले ३० जना व्यक्तिलाई यूरोप र एशियाका विभिन्न देशमा भ्रमण गराउने भनेर कुपन भर्न लगाई उनीहरुबाट ९ लाख ६५ हजार रुपैयाँ ठगि गरेका थिए। त्यसैगरि १५ जना युवायुवतीलाई रोजगारीको प्रलोभन देखाएर वैद्य काम रहेको भनेर अवैध काम गर्न लगाएको पनि प्रहरीको भनाई छ। प्रहरीले पक्राउ परेका व्यक्ति र उनीहरुको कार्यालयबाट कम्प्युटर, रेकर्ड फाइल, कुपन रसिद, छाप र विभिन्न व्यक्तिको नाममा काटिएको कुपनको अर्धकट्टी समेत फेला पारेको छ।
पक्राउ परेका संचालकहरुले ओएसिस टुरिज्म इन्टरनेशनल नामको संस्था दर्ता गरेर १५ जना युवायुवतीलाई खटाएका थिए। ती युवायुवतीमार्फत अनलाईन र फोनमार्फत व्यक्तिलाई सम्पर्क गर्न लगाउने गरेका थिए। तीन रात र चारदिनको घुमघामको भौचर भर्न लगाएर विभिन्न अफरहरु देखाएर ठगि गर्ने गरेका थिए। उनीहरुले प्रतिव्यक्ति ५ लाख रुपैयाँसम्मको प्याकेज बनाएर अग्रिम रकम लिने गरेका थिए। अग्रिम रुपमा रकम उठाउने र त्यसपछि भाग्ने योजना रहेको प्रहरीको अनुमान रहेको छ।
प्रकाशित: ९ श्रावण २०८३ १७:५० शनिबार





