प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट बनाएर सामाजिक सञ्जालमा प्रचार गर्ने एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका २, ठोसे बस्ने ३२ वर्षीय भगवान कार्कीलाई पक्राउ गरिएको हो।
रसुवामा आएको बाढीपछि प्रभावितको उद्धार तथा राहतका लागि नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै कार्कीले च्याज जिपिटीको प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार गरेको प्रहरीले जनाएको छ।
उनले उक्त नक्कली स्टेटमेन्टमा आफ्नो क्यूआर कोडसमेत राखेर सामाजिक सञ्जालमा पोस्ट गरेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय रामेछापले घटनाबारे जानकारी पाएपछि कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा भ्रम सिर्जना गरी ठगी गर्ने गतिविधि गरेको भन्दै घटनाको अनुसन्धान अघि बढाएको हो।

प्रकाशित: १४ भाद्र २०८३ १०:३५ आइतबार





