११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

महाकालीमा बाढी उर्लिँदा नेपाल-भारत आवागमन प्रभावित

महाकाली नदीमा पानीको बहाव उच्च भएसँगै कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकी भएर हुने नेपाल-भारत आवागमन प्रभावित भएको छ।

भारतीय पक्षले करिब १०० वर्ष पुरानो शारदा ब्यारेज (बनवासा पुल) मा चार पाङ्ग्रे तथा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। हाल पुलबाट मोटरसाइकललगायत साना सवारीसाधनलाई मात्र आउजाउ गर्न दिइएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार आज गरिएको मापनमा महाकाली नदीमा पानीको बहाव १ लाख ७५ हजार ७०० क्युसेक पुगेको छ।

भारतीय पक्षले महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै जोखिमलाई ध्यानमा राखी पुरानो पुलमा ठूला सवारी आवागमनमा रोक लगाउँदै आएको छ।

सदूरपश्चिमका पहाडी जिल्लाहरू दार्चुला, बैतडी र डडेल्धुराका साथै भारतीय क्षेत्रमा भइरहेको लगातारको वर्षाका कारण महाकालीमा बहाव बढेको हो।

प्रवक्ता रावतका अनुसार नदीमा बहाव अझै बढ्ने क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। अहिले पुलको दुवैतर्फ ठूला सवारीसाधन ठप्प छन्।

यता, भारी वर्षाबाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विपद् पूर्वतयारीअनुरूप दुई दिनदेखि कञ्चनपुरबाट चल्ने लामो दुरीका सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ।

महेन्द्रनगर र बेलौरीबाट काठमाडौं तथा पोखरालगायत लामो दुरीका गन्तव्यमा छुट्ने यात्रुवाहक बसहरू ठप्प भएका हुन्।

महाकाली बहुउद्देश्यीय यातायात कम्पनी प्रालिका अध्यक्ष नवीन भट्टले शुक्रबारदेखिको वर्षाका कारण लामो दुरीका यात्रुवाहक बस सञ्चालन नगरिएको बताए।

‘धनगढी-महेन्द्रनगरलगायत छोटो दुरीका सवारीसाधन चले पनि लामो दुरीका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ,’ अध्यक्ष भट्टले भने, ‘त्यसैगरी यहाँबाट सुदूरपश्चिमका पहाडी जिल्लामा पनि सवारीसाधन पठाइएको छैन। पहाडमा लगातारको वर्षाले पहिरोको उच्च जोखिम छ।’

प्रकाशित: ११ आश्विन २०८३ १६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App