२ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

हेटौंडामा स्कुलबाट फर्कँदै गरेका ४ बालिकालाई खहरे खोलाले बगायो: एकको मृत्यु, दुई बेपत्ता

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ बासुदेवस्थित खहरे खोलाले बगाउँदा विद्यालयबाट घर फर्कँदै गरेका चार छात्रामध्ये एक बालिकाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। एक बालिका भने सकुशल निस्कन सफल भएकी छन्।

मंगलबार साँझ करिब ५:५५ बजे निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट घर फर्कने क्रममा सडकमा रहेको लच्का (कजवे) तर्दै गर्दा बासुदेव खहरे खोलामा आएको बाढीले उनीहरूलाई बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

खोलाले बगाएकी स्थानीय दिप स्याङताङकी ८ वर्षीया छोरी रोसनी स्याङताङ घटनास्थलबाट करिब ५ सय मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला परेकी थिइन्। उनलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

सोही घटनामा परेकी सीताराम भोलनकी १३ वर्षीया छोरी सिमा भोलन भने सामान्य घाइते अवस्थामा आफैं खोलाबाट बाहिर निस्कन सफल भएकी छन्। उनको हाल हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

घटनामा स्थानीय टीकाराम भोलनकी ११ वर्षीया छोरी सुमित्रा भोलन र राजकुमार भोलनकी १२ वर्षीया छोरी बिनिता भोलन बेपत्ता छन्।

बेपत्ता बालिकाहरूको खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीको कमान्डमा २० जना, इलाका प्रहरी कार्यालय नेवारपानी, बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मबाट प्रहरी निरीक्षक विजयराज तिमल्सेनाको नेतृत्वमा ११ जना, सशस्त्र प्रहरी बल १४ नम्बर गणबाट डीएसपी निवन कुमार खड्काको कमान्डमा १७ जना तथा नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको छ।

प्रकाशित: २ भाद्र २०८३ २०:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App