निजी तथा आवासीय विद्यालयहरूको छाता संस्था प्याब्सन ताप्लेजुङका संस्थापक अध्यक्ष तथा फुङलिङस्थित कञ्चनजंघा आवासीय माविका संस्थापक प्रिन्सिपल काजीमान पालुङ्वाको निधन भएको छ।
प्याब्सनका पूर्व केन्द्रीय सदस्य समेत रहेका पालुङ्वाको ६० वर्षको उमेरमा शनिबार बिहान १ बजे निधन भएको हो। फोक्सोको क्यान्सरबाट पीडित पालुङ्वा लामो समयदेखि काठमाडौंमा उपचाररत थिए।
प्याब्सन ताप्लेजुङका अध्यक्ष देवराज गुरुङले पालुङ्वाको निधनले ताप्लेजुङको शैक्षिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए। फुरुम्बु–पालुङ्वा वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष समेत रहेका पालुङ्वा फुङलिङ नगरपालिका वडा नं २ स्थित बालसुवोधिनी संस्कृत माध्यमिक विद्यालयको अंग्रेजी शिक्षकको रूपमा शैक्षिक क्षेत्रमा प्रवेश गरेका थिए।
उनको पार्थिव शरीरलाई शनिबार साँझ ताप्लेजुङ ल्याई पुर्याउने र आइतबार अन्त्येष्टी गर्ने योजना रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।
प्रकाशित: २७ भाद्र २०८३ १२:१३ शनिबार





