२७ भाद्र २०८३ शनिबार
image/svg+xml
खेल

तरुण एकता कपको उपाधि नरहरिनाथलाई

नेपाल तरुण दल कालीकोटले आयोजना गरेको प्रथम तरुण एकता कप भलिबलको उपाधि नरहरिनाथ गाउँपालिकाले जितेको छ। कालीकोट सदरमुकाम मान्मस्थित खुलामञ्चमा शनिबार सम्पन्न फाइनल खेलमा खाँडाचक्र नगरपालिका-६ लाई पछि पार्दै नरहरिनाथ-४ ले उपाधि जितेको हो। खाँडाचक्र-६ उपविजेतामा सीमित भएको छ।

उपाधिसँगै नरहरिनाथले ७० हजार रुपैयाँ नगद, कप र मेडल प्राप्त गरेको छ। उपविजेता खाँडाचक्रले ४० हजार रुपैयाँ नगद, कप र मेडल पाएको हो।

प्रतियोगिताअन्तर्गत फुटबलतर्फ पञ्चदेव फुटबल क्लबले उपाधि जितेको छ। भेट्रान्स राइड्स दोस्रो भएको छ। विजेता पञ्चदेवले २५ हजार रुपैयाँ नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्दा उपविजेता राइड्सले १५ हजार रुपैयाँ नगद, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ।

नेपाल तरुण दल कालीकोटका अध्यक्ष दमनराज शाहीले जिल्लामा पहिलोपटक तरुण  एकता कप आयोजना गरिएको बताए। उनका अनुसार प्रतियोगितामा भलिबलतर्फ १६ र फुटबलतर्फ १२ टोली सहभागी थिए।

युवालाई खेलकुदसँग जोड्दै आपसी एकता, सहकार्य र भाइचाराको भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ।

पार्टीको आन्तरिक विवादको समयमा  

तरुण कपले पार्टीलाई समेत एकताबद्ध हुन सहयोग पुगेको नेपाली कांग्रेसका सभापति अम्लराज शाहीले बताए । उनले पार्टीलाई सहयोग पुग्ने गरि आयोजना गरिएको  प्रथम तरुण कपका विजेता तथा उपविजेता टिमलाई धन्यवाद दिए।

प्रकाशित: २७ भाद्र २०८३ १२:११ शनिबार