सोलुखुम्बुको लिखु पिके गाउँपालिकामा ङग्युर ञिङ्मा पल्युल दोङग क्षोलिङ्ग गुम्बा निर्माणको शिलान्यास गरिएको छ।
गाउँपालिकाका अध्यक्ष मीना बस्नेत र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजयकुमार सिंहले आज संयुक्त रूपमा गुम्बा शिलान्यास गरेको दूतावासले जनाएको छ।
भारत सरकारको करिब तीन करोड ३० लाख आर्थिक सहयोग उक्त गुम्बाको निर्माण गरिनेछ। त्यस गाउँपालिकामार्फत कार्यान्वयन गरिने उक्त उच्च प्रभाव सामुदायिक विकास परियोजना सोलुखुम्बुको छैटौँ हो।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बस्नेत तथा अन्य सरोकारवालाले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे। उनीहरूले नयाँ पूर्वाधारले सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे।
भारत र नेपालबीच बहु क्षेत्रीय सहकार्य रहिआएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकास र समृद्धिलाई अगाडि बढाउने नेपालको प्रयासलाई सहयोग गर्नेछ।
प्रकाशित: ३१ असार २०८३ १३:४० बुधबार



-600x400.jpg)
-600x400.jpg)
