२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml
समाज

कालीकोटमा ४२० मेगावाटको तिला २ जलविद्युत् आयोजनाको शिलान्यास

कालीकोटको खाँडाचक्र नगरपालिका–८ सेराबाडामा ४ सय २० मेगावाट क्षमताको तिला २ जलविद्युत् आयोजना निर्माण हुने भएको छ।

आयोजनाको पावर हाउस र सुरुङ निर्माणको शुक्रबार औपचारिक शिलान्यास सुरु भएको हो।

खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही, प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयल, जिल्ला प्रहरी कार्यालय प्रमुख हिमबहादुर खत्री, वडा–८ का अध्यक्ष नन्दबहादुर मल्ल, आयोजनाका प्रतिनिधि कृष्णबहादुर चौधरीलगायतको उपस्थितिमा आयोजनाको शिलान्यास भएको हो।

ऊर्जा तिला पावर कम्पनी प्रालिद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झन्डै ७० अर्ब रुपैयाँ रहने अनुमान गरेको आयोजनाका प्रतिनिधि कृष्णबहादुर चौधरीले बताए। यो आयोजनाको सुरुङ तिलागुफा नगरपालिकाको धनाडादेखि शुरू भई खाँडाचक्र नगरपालिकाको सेराबाडामा निस्किनेछ।

आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका बासिन्दालाई जग्गाको मुआब्जा वितरण गर्ने कार्य भइरहेको उनको भनाई छ।

यो आयोजना कर्णाली प्रदेशकै समृद्धिका लागि कोशेढुङ्गा साबित हुने विश्वास स्थानीयमा छ। तिला नदीको पानी उपयोग गरी निर्माण हुन लागेको यो आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको हो।

प्रकाशित: १ जेष्ठ २०८३ १९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App