२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

निवासमा छापापछि होटलबाटै नियन्त्रणमा लिइएका थिए पौडेल, काठमाडौं ल्याइँदै

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री लाई सम्पत्ति शुद्धीकरणको मुद्दामा सुर्खेतबाट पक्राउ गर्नुअघि विभागले उनको ललितपुरस्थित निवासमा छापा मारेको खुलेको छ।

शंकास्पद सेयर कारोबार र विवादित व्यवसायी दीपक भट्टसँगको सम्बन्धका आधारमा अनुसन्धान अघि बढाउँदै विभागले सोमबार दिउँसो उनको निवासमा छापा मारेको हो।

भैसेपाटीस्थित पौडेलको घर जेन-जी आन्दोलनका क्रममा जलाइएपछि उनी हाल सोही क्षेत्रमा भाडाको घरमा बस्दै आएका छन्। विभागको टोली दिउँसो १ बजे उनको निवासमा पुगेर केही महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

व्यवसायी दीपक भट्टसँगको अस्वाभाविक सम्बन्ध र सेयर बजारमा पौडेलको लगानीको स्रोतमाथि विभागले लामो समयदेखि निगरानी गरिरहेको थियो।

पार्टीको निर्वाचन समीक्षा एवं पुनर्गठन सम्बन्धी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई वीरेन्द्रनगरस्थित शुभम होटलबाट नियन्त्रणमा लिइएको हो। सो कार्यक्रममा एमालेका अन्य शीर्ष नेताहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा र बादल लगायतको पनि उपस्थिति थियो।

कार्यक्रम चलिरहेकै बेला सुर्खेतका प्रहरी प्रमुख (एसपी) ठाकुरप्रसाद पोखरेल आफैँ होटल पुगेर पौडेललाई नियन्त्रणमा लिएका थिए। प्रहरीले पौडेललाई गाडीमा राखेर नेपालगञ्जतर्फ लगेको थियो।

सुर्खेतबाट काठमाडौंका लागि सिधा हवाई उडान उपलब्ध नभएकाले उनलाई सडक मार्ग हुँदै नेपालगञ्ज पुर्‍याइएको हो। उनलाई आजै नेपालगञ्जबाट हवाई मार्गमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतबारे उजुरी परेकाले थप अनुसन्धान आवश्यक रहेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पक्राउका लागि पत्राचार गरेको थियो।

प्रकाशित: ८ असार २०८३ १८:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App