१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

पूर्वप्रजिअ रिजाल हाजिरी जमानीमा रिहा

मंगलबार बिहान पक्राउ परेका काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सिडिओ) छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सुविधानगरस्थित निवासबाटै पक्राउ गरेको थियो। तर, पक्राउ परेको केही समयमै जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई भतिजको जिम्मा लगाएर छाडेको छ।

परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले आवश्यक कागजात बुझेर रिजाललाई खोजेका बखत उपस्थित हुने सर्तमा जिम्मा जमानीमा छाडिएको बताएका छन्।

रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ। आन्दोलनका बेला उनी काठमाडौंका सिडिओ थिए।

आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही गर्न सिफारिस गरेको थियो।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रबाहेक अन्य पदाधिकारीको हकमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।

सोही निर्णयका आधारमा गत शनिबार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन्।

प्रकाशित: १७ चैत्र २०८२ १९:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App