मुस्ताङको मुक्तिनाथमा एकै दिन आठ वटा हेलिकप्टरले उडान गरेका छन्।
जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार सोमबार विभिन्न हेलिकप्टर कम्पनीले काठमाडौं-मुक्तिनाथ र मुक्तिनाथ-काठमाडौं दुईतर्फी उडान गरेका हुन्।
जोमसोम विमानस्थल प्रमुख दीपक पोखरेलका अनुसार सोमबार काठमाडौं-मुक्तिनाथ दुईतर्फी हेलिकप्टर उडान भएका छन्। ती उडानबाट ३२ भारतीय दर्शनार्थीले हेलिकप्टर सेवा लिएका छन्। उनका अनुसार वर्षायाममा यति धेरै सङ्ख्यामा हेलिकप्टर उडान भएको पहिलो पटक हो।
विमानस्थल प्रमुख पोखरेलका अनुसार काठमाडौंबाट सिधै मुक्तिनाथ र मुक्तिनाथबाट काठमाडौं विभिन्न पाँच निजी हेलिकप्टर कम्पनीले उडान गरेका छन्। एयर डाइनेस्टिक, अल्टिच्युड एयर, एभरेस्ट हेलि, अन्नपूर्ण एयर र सिम्रिक एयरले उडान गरेका हुन्।
यसैगरी, दुई महिनादेखि रोकिएको पोखरा-जोमसोम हवाई सेवा पनि सोमबारदेखि पुनःसञ्चालनमा आएको छ। पोखरा-जोमसोम नियमित हवाई सेवाका लागि समिट एयरलाइन्सले तीन वटा उडान गरेको हो।
समिट एयरको जोमसोम स्टेसन इन्चार्ज सुमन थकालीका अनुसार जेठ २ गतेदेखि बन्द रहेको हवाई सेवा सोमबारदेखि पुनःसुरु भएको हो।
पहिलो दिन समिट एयरको जहाजले ४८ भारतीय यात्रुलाई सेवा दिएको उनले जानकारी दिएका छन्। तारा एयरलाइन्सले भने अझै उडान सुरु गरेको छैन। रासस
प्रकाशित: ९ भाद्र २०८३ ०६:०२ मंगलबार





