अविरल वर्षापछि आएको बाढीले मोरङमा ६८ लाख रुपैयाँ बढीको कृषि उपजमा क्षति पुगेको छ। कृषि ज्ञानकेन्द्र मोरङका अनुसार बाढीका कारण भएको डुबान र खोलाको कटानले ६८ लाख ३५ हजार रुपैयाँ मूल्य बराबरको कृषि उपजमा क्षति पुगेको हो।
कृषि ज्ञान केन्द्र मोरङको प्रारम्भिक तथ्यांकअनुसार वर्षाले सबैभन्दा बढी तरकारी बालीमा क्षति पुर्याएको छ। २७ हेक्टर क्षेत्रफलको तरकारी बालीमा वर्षाले क्षति पुऱ्याउँदा ३४ लाख ३० हजार रुपैयाँ बराबरको तरकारी नष्ट भएको छ। यस्तै १५ हेक्टर क्षेत्रफलको धान नष्ट हुँदा २८ लाख ४५ हजार रुपैयाँ मूल्य बराबरको क्षति पुगेको कृषि ज्ञानकेन्द्र मोरङकी प्रमुख दीपा देवले जानकारी दिइन्।
यस्तै ३ लाख ३० हजार रुपैयाँ मूल्यको केरा, ३० हजार मूल्य बराबरको मासको दाल र २ लाख मूल्य बराबरको च्याउ नष्ट भएको छ। असोज १७, १८ र १९ गते आएको अविरल वर्षाका कारण डुबानमा परेर मोरङमा १ सय ६८ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ४ सय ३९ घरमा आंशिक क्षति पुगेको छ। बाढीका कारण मोरङमा एक जना महिलाको डुबेर मृत्यु भएको थियो।
प्रकाशित: २९ आश्विन २०८२ १३:४१ बुधबार





