गत शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात् पछिको बाढीपहिरोले यहाँको चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध भएका छन्।
ती गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध हुँदा कतिपय ग्रामीण क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको छ भने सडक अवरुद्ध हुँदा आजवजावतमा केही दिन पर्खनुपर्ने बाध्यता रहेको जनाइएको छ।
जिल्लाको खानीखोला, महाभारत, रोशी र बेथानचोक गाउँपालिका जाने सडक पहिरोले अवरुद्ध भएका हुन्। केही गाउँपालिकाले भने सोमबारदेखि आवश्यक उपकरणसहित सडक खुलाउन थालेका छन्। बाढीपहिरोले अति विकट महाभारत पर्वत श्रृङ्खलापारी (डाडाँपारी) का दुई गाउँपालिका जाने सडक पूर्णरूपमा बन्द भएको हो। विशेषगरी त्यस क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारत जाने सडक खुल्न हप्ता दिन लाग्ने स्थानीय तहका जनप्रतिनिधिले जनाएका छन्।
महाभारतमा सडक, विद्युत् र सञ्चार–सम्पर्कबाट विच्छेद भएको छ। सडक अवरुद्ध भएका कारण महाभारत जाने कुनै विकल्पिक सडक नभएको अध्यक्ष कान्छालाल जिम्बाले बताए। उनका अनुसार गाउँपालिका कार्यालय जाने मुख्य सडकसहित विभिन्न वडामा जाने सबै सडक विभिन्न ठाउँमा अवरुद्ध भएको छ।
'यी सबै क्षतिग्रस्त सडक बनाउन हप्ता दिनभन्दा बढी लाग्न सक्छ, विद्युत् सेवा पनि अवरुद्ध भएकाले दुवै सेवालाई कसरी सुरु गर्ने भन्ने तत्कालै योजना बनाइरहेका छौँ,' जिम्बाले भने। उनका अनुसार मुख्य गरी महाभार जाने बिपी राजमार्गसँग जोडिएका चौकीडाँडा–सिपाली, पिन्थली–रजवास, मंगलटार–डाडाँखर्क र पिप्ले–भीमखोरी खण्डका सडक सबै अवरुद्ध भएका छन्।
यस्तै डाँडापारी अवस्थित गाउँपालिका खानीखोला जाने सबै सडक अवरुद्ध भएकाले मर्म गरी सडक खुलाउन केही समय लाग्ने अध्यक्ष इन्द्रबहादुर थिङले बताए। उनका अनुसार सोमबारदेखि सडक खुलाउन मेसिन प्रयोग भइसकेको छ। 'सडक अवरुद्ध भएकले इन्धन व्यवस्थापनमा समस्या भएको छ, हामी प्रयास गर्दैछौँ,' थिङले भने। उनले एक/दुई दिनमै विद्युत् सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति खटाएको बताए।
रोशीको सडकअन्तर्गत बिपी विभिन्न स्थानमा अस्थायी डाइभर्सन कटान गरेपछि विभिन्न वडा जाने सडक अवरुद्ध भएको छ। चौकीडाँडा र घुमाउनेमा सडक बनेपछि मात्र गाउँपालिका केन्द्र सडक सञ्जालसँग जोडिने अध्यक्ष दिनेश लामाले बताए। उनका अनुसार रोशीमा विद्युत् सेवा आंशिक रूपमा अवरुद्ध भएकाले तत्काल पूर्णरूपमा सेवा नियमित गर्न लागिएको छ।
यसैगरी बेथानचोकमा अवरुद्ध सडक खुलाउन आइतबारदेखिले जनप्रतिनिधिहरू सक्रिय भएका छन्। अवरुद्ध मुख्य सडकलाई खुलाउन प्राथमिकता दिइएको जनाइएको छ। गाउँपालिका कार्यालयबाट अन्य वडा जोडिने सडकलाई खुलाउन आवश्यक मेसिनहरू प्रयोग भइरहेको गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले बताए। जिल्लामा बाढीपहिरोले दुईको मृत्यु भएको छ भने पूर्वाधारका क्षेत्रलगायत निजी भौतिक संरचनामा निकै ठूलो क्षति भएको जनाइएको छ। रासस
प्रकाशित: २१ आश्विन २०८२ ०८:२४ मंगलबार





