भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना आए पनि हाल ठुलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आइतबार बिहान ५:४५ बजे जारी गरेको पछिल्लो अपडेटमा जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना प्राप्त भएको जनाएको छ। सोही सूचनाका आधारमा गरिएको अवस्थाको मूल्यांकनमा नुवाकोटमा बाढी केही बढेको भए पनि ठुलो नरहेको महाशाखाले बताएको छ।
महाशाखाका अनुसार हाललाई रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठुलो बाढीको जोखिम छैन। यद्यपि नदीको बहावमा आएको परिवर्तनलाई ध्यानमा राख्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
यसअघि ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले बताएका थिए। बाढीका कारण हुन सक्ने मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको थियो।
यसअघि भदौ १० गते (गत साता बुधबार) ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठुलो मानवीय तथा भौतिक क्षति गरेको थियो।
प्रकाशित: १४ भाद्र २०८३ ०५:५२ आइतबार


-600x400.jpg)


