११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

मर्स्याङ्दीमा बाढीको खतरा, लमजुङका तटीय बस्ती खाली गराउन प्रहरीको माइकिङ

मनाङको घट्टेखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि मर्स्याङ्दी नदीमा कुनै पनि बेला भीषण बाढी आउन सक्ने जोखिम बढेको छ।

विपद्को सम्भावनालाई मध्यनजर गर्दै लमजुङ प्रशासनले नदी तटीय क्षेत्रका सम्पूर्ण बस्ती तत्काल खाली गर्न स्थानीय बासिन्दासँग आग्रह गरेको छ।

लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार आज साँझ करिब ७ बजेदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी नदी आसपासका बस्तीहरूमा माइकिङ सुरु गरिएको छ।

प्रशासनले विशेष गरी खुदी, भकुन्डे, पाउदीलगायत नदी किनारका बासिन्दालाई घर छाडेर तत्काल सुरक्षित तथा अग्लो स्थानमा सर्न निर्देशन दिएको छ।

मनाङको चामे गाउँपालिका-४ स्थित घट्टेखोलामा निरन्तर पहिरो झरिरहेको छ। पहिरोका कारण खोला थुनिएर एक्कासि बाँध फुट्दा तल्लो तटीय क्षेत्रमा ठूलो विनाश निम्त्याउन सक्ने उच्च जोखिम रहेको प्रजिअ खनालले बताए।

‘अहिले नदीको पानीको बहाव केही कम देखिए पनि माथिल्लो क्षेत्रको घट्टेखोलामा पहिरो झर्ने क्रम रोकिएको छैन,’ प्रजिअ खनालले भने, ‘कुनै पनि बेला खोला थुनिन सक्छ र त्यो फुटेर आउँदा नदी आसपासका बस्ती सखाप पार्ने खतरा छ। पाउदीलगायत स्थानमा यसअघि नै बाढीको प्रभाव देखिइसकेकाले समयमै सतर्कता अपनाएका हौं।’

बाढीको गम्भीर जोखिमलाई मध्यनजर गर्दै लमजुङमा रहेका दुई ठूला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द गराइएको छ।

प्रशासनको आग्रहपछि ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाका बाँधका सबै ढोका (गेट) खोलेर पानीको निकास खुला गरिएको छ।

यसैगरी, मर्स्याङ्दी करिडोरमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनामा कार्यरत प्राविधिक तथा मजदुरहरूलाई समेत कार्यस्थल छाडेर सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ।

प्रशासनले नदी किनारमा अनावश्यक आवतजावत नगर्न र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित: ११ आश्विन २०८३ २१:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App