२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

पाँचथरको याङवरकमा बाढीपहिरो, झोलुङ्गे पुलसहित दुई घर बगायो

अविरल वर्षापछि शुक्रबार राति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो क्षति पुर्याएको छ।

याङवरक गाउँपालिका वडा नं १, २ र ३ मा बाढी पहिरोले घरगोठहरु, सडक, झोलुङ्गे पुल, जलविद्युत् आयोजनालगायतमा क्षति पुर्याएको हो।

याङवरक गाउँपालिकाका उपाध्यक्ष बाबा मेन्याङ्बोका अनुसार बाढी पहिरोले हालसम्म वडा नं १ मा दुई वटा घर र वडा नं १ र २ मा गरी तीन वटा झोलुङ्गे पुल बगाएको छ।

हालसम्म मानवीय क्षतिको विवरण नआएको र वर्षा रोकिएको उपाध्यक्ष मेन्याङ्बोले जानकारी दिए। बाढी पहिरोले याङवरक–१ च्याङथापु बजार आसपासको क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।

निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको ओयाम–चिवाभञ्ज्याङ खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ। याङवरक–३ स्थित रिजाल भिरमा पहिरो झरेको छ भने वडा नं २ को दोभानेमा रहेको डाइभर्सन पूर्ण रुपमा बगाएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार पुष्पलाल (मध्यपहाडी) लोकमार्गको ओयाम–चिवाभञ्ज्याङ खण्ड सुचारु गराउने पहल सुरु भएको छ। सीमा प्रहरी कार्यालय च्याङथापुले क्षतिको विवरण सङ्कलन थालेको र हालसम्म दुई वटा घर बगाएको जानकारी आएको प्रनाउ कर्णले जानकारी दिए।

यस्तै पाँचथरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको सीमास्थित तमोर कोरिडोरमा निर्माणाधीन लिम्बुनी सडक पुलको ट्रस बाढीले बगाएको प्रहरीले जनाएको छ । हेंवा, काबेली र तमोर नदीमा बाढी आएर तटीय क्षेत्र जोखिमपूर्ण बनेको पाँचथर प्रहरीको भनाइ छ।

गए राति आएको बाढीपहिरोले याङवरक–३ ओयाम बजार आसपासको खेतीयोग्य क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको स्थानीयवासी तेजबहादुर योङ्याले जानकारी दिए। 

प्रकाशित: ९ जेष्ठ २०८३ १०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App