१६ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

हवाई फायरपछि दुई गाडीसहित पाँच जना पक्राउ

सुनसरीको धरानमा दुईवटा स्कार्पियो गाडीमा २१० किलो गाँजा लोड गर्दै गरेका पाँच जना पक्राउ परेका छन्। 

पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार धरान उपमहानगरपालिका-२०, च्यानडाँडामा सोमबार बिहान करिब ३ बजे गाँजा लोड भइरहेको गोप्य सूचना प्राप्त भएको थियो। सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरका दुई स्कार्पियोमा गाँजा लोड भइरहेको अवस्थामा फेला पारेको थियो।

प्रहरीले दुवै गाडीबाट ८ वटा पोकामा राखिएको करिब २१० किलो गाँजा बरामद गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका-१० का २४ वर्षीय रामसागर कुमार यादव, राजगढ गाउँपालिका-१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, छिन्नमस्ता गाउँपालिका-६ का ५९ वर्षीय राजकुमार शाह, भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर र सुनसरीको धरान उपमहानगरपालिका-११ का २१ वर्षीय अमृत बिशुङ्खे रहेका छन्।

यादव बा.१ च ५०३८ नम्बरको स्कार्पियोका चालक हुन् भने शाह को.१ च ८१८२ नम्बरको स्कार्पियोका चालक रहेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १६ कार्तिक २०८३ ०९:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App