जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय गर्नका लागि संसदीय सुनुवाइ समितिको बैठक बस्ने भएको छ।
प्रस्तावित राजदूत थापाका सम्बन्धमा निर्णय लिन आज (सोमबार) दिउँसो ३ बजे बैठक बस्न लागेको हो। सुनुवाइ समितिको सचिवालयका अनुसार बैठक सिंहदरबारमा बस्नेछ।
संसदीय सुनुवाइ समितिले गत असोज २८ गते १० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गर्दा थापामाथि ‘थप अनुसन्धान गर्ने’ भन्दै निर्णय होल्ड गरेको थियो।
सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेललाई भने अस्वीकृत गर्ने निर्णय गरेको थियो।
जापानका लागि प्रस्तावित राजदूत थापाको जापानको पीआर रहेको भन्दै सांसदहरुले प्रश्न उठाएपछि थप अध्ययन गर्ने भन्दै सुनुवाइ स्थगित गरिएको थियो।
प्रकाशित: १६ कार्तिक २०८३ ०९:५१ सोमबार





