इरानको जेलमा रहेका पाँच नेपाली परराष्ट्र मन्त्रालयको पहलमा थुनामुक्त भई स्वदेश फर्किएका छन्। उनीहरूलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपछि तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा बिहीबार काठमाडौँ ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयले आज प्रेस विज्ञप्तिमार्फत यस प्रक्रियामा सहयोग, सक्रियता र सदाशयता प्रदर्शन गर्ने भारत सरकार, इरान सरकारका सम्बन्धित निकाय र अधिकारीहरू, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनप्रति धन्यवाद व्यक्त गरेको छ।
इजरायल र इरानबिच गत जुन १३ देखि सुरु भएको द्वन्द्व जुन २३ मा दुवै पक्षबीच युद्धविराम भएपछि शान्ति सुरक्षाको स्थिति क्रमशः सहज हुँदै गएकाले जनजीवन सामान्यतर्फ उन्मुख छ। उक्त अवधिमा दुवै मुलुकमा रहेका नेपालीको हकहित र सुरक्षालाई ध्यानमा राख्दै मन्त्रालयले यात्रासम्बन्धी सुझाव र सूचना जारी गरेको थियो। साथै आवश्यक परेको बेला आपतकालीन उद्धारका लागि विवरण सङ्कलन गरिएको थियो।
द्वन्द्वको अवधिमा नेपाल सरकारले भारत सरकारलाई गरेको अनुरोधलाई सम्मान गर्दै ‘अपरेसन सिन्धु’ अन्तर्गत भारतीय नागरिकलाई उद्धार गर्न गएको भारतीय विमान सेवाको उडानबाट विभिन्न मितिमा तीन चरणमा नौ जना नेपाली नागरिकलाई यसअघि नै इरानबाट उद्धार गरी भारत हुँदै उनीहरू सबै स्थलमार्गबाट सकुशल आ-आफ्नो घर फर्किसकेका छन्। रासस
प्रकाशित: ९ श्रावण २०८२ १९:५९ शुक्रबार





