१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
समाज

‘यलुङ री’ हिमाल चढ्न गएका पाँच विदेशी र दुई नेपालीको मृत्यु

उद्धार टोली ‘ना’ गाउँमा

रोल्वालिङ हिमशृंखला । फाइल तस्बिर

दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित रोल्वालिङ हिमशृंखला अन्तर्गतको ‘यलुङ री’ हिमालको बेसक्याम्पमा हिमपहिरो खस्दा पाँच विदेशी र दुई नेपाली गरी सात आरोहीको मृत्यु भएको छ ।  

हिमपहिरोमा परी पाँच जना घाइते भएका छन् । दोलखा प्रहरीका अनुसार मृत्यु हुने पाँच विदेशीमा अमेरिकी नागरिक तीन जना छन् । एक क्यानाडाका र अर्का इटालीका छन् । उनीहरूसँगै रहेका दुई नेपालीको पनि मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ ।

यता सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उद्धारको टोली गइसकेको छ । तीन वटै सुरक्षा निकायको उद्धार टोली सोमबार साँझ घटनास्थालमा पुगिसकेको उनले जानकारी दिए ।  

पाँच हजार ६ सय ३० मिटर अग्लो यलुङ री आरोहणका लागि सोमबार बिहान पाँच विदेशीसहित सात नेपाली पथप्रदर्शक त्यसतर्फ गएका थिए ।  

बिहान करिब साढे ८ बजे आरोहणमा सहभागी सबैलाई हिमपहिरोले छोपेको थियो । गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले ठुलो हिउँपहिरो खसेको जानकारी दिए ।  

उनले कति संख्यामा आरोहीको मृत्यु भयो भन्नेमा यकिन हुन नसकेको बताए । ‘हामी सम्पर्क गर्ने कोसिसमा छौं, पाँच विदेशी र दुई नेपालीको मृत्यु भन्ने आएको छ । तीन जना यता सम्पर्कमा आइसक्नुभएको छ । उहाँहरूले पनि यकिन खबर दिनसक्नुभएको छैन,’ अध्यक्ष कार्कीले भने ।

हिमपहिरोमा परेलगत्तै खटिएको सुरक्षाकर्मीहरू ना गाउँमा पुगेका छन् । समयमा हिमपहिरोबाट उद्धार नहुँदा मानवीय क्षति भएको हो । हिमपहिरोमा सात जनाको मृत्यु भएको दोलखा प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।  

उनका अनुसार आरोहणमा गएको टोली हिमपहिरोमा परेको सूचना ढिलो प्राप्त भएको थियो । केही दिनदेखि रोल्वालिङ उपत्यकाको मौसममा खराबी आएसँगै हिमपात भएको थियो । हिमपात भएपछि ना गाउँका स्थानीय बेदिङ झर्ने गरेका छन् ।

प्रकाशित: १७ कार्तिक २०८२ २०:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App