१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

उपत्यकामा सुनको सिक्री लुटपाट गर्ने पाँच जना पक्राउ

उपत्यकाका विभिन्न स्थानमा सुनको सिक्री चोरी तथा लुटपाटमा संलग्न पाँच जना पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर काठमाडौं जिल्ला अदालतबाट चोरीसम्बन्धी मुद्दामा आठ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुली हरिहरगढी–६ का राज लामा (२८ वर्ष), उदयपुर ताप्ले–४ का विशाल भनिने दुर्ग बहादुर मगर (२० वर्ष), रामेछाप लिखु तामाकोसी–६ का दिलबहादुर बिक (३२ वर्ष), बागलुङ गल्कोट–२ का गोबिन्द सुनार (४० वर्ष) र कैलाली लम्कीचुहा–७ का दिपेस रसाईली (२२ वर्ष) छन् ।

प्रहरीका अनुसार राज लामा र दुर्ग बहादुर मगरले मोटरसाइकलमा सवार भएर सडकमा हिँड्ने महिलाहरूको सिक्री तान्ने, बिकले लुटिएको सिक्री बिक्री गर्ने, र गोबिन्द सुनार तथा दिपेस रसाईलीले ती सुन किन्ने कार्यमा संलग्न थिए ।

उनीहरूले पछिल्ला हप्तामा ललितपुर र काठमाडौंका नख्खुडोल, बुद्धचोक, सिङ्गल ट्री, रामकोट, थापाचोक र नेपालटारलगायत स्थानबाट १२ तोलाभन्दा बढी सुनका सिक्री र मोबाइल लुटपाट गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

राज लामा र दुर्ग बहादुरको कोठाबाट प्रहरीले १० थान मोबाइल, ७३ थान सिम कार्ड, २ मोटरसाइकल, सुनका बिल र अदालत फाइलहरू बरामद गरेको छ ।

त्यस्तै, दिलबहादुर बिकको लक्ष्मी ज्वेलर्सबाट तीन लाख ८८ हजार ५०० नगद, दिपेस रसाईलीको कोठाबाट ६४ लाल तौल बराबरको सुन, र गोबिन्द सुनारको बागलुङ कालिका ज्वेलर्सबाट सात तोला ४८ लाल सुन र तथा एक लाख ६६ हजार रुपैयाँ नगद बरामद गरिएको छ ।

प्रहरीले पक्राउ परेकाहरूमाथि चोरी र संगठित अपराधसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रकाशित: १२ कार्तिक २०८२ १६:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App