२३ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

नेपालगन्जमा बिद्युत सर्ट भएर आगलागी हुँदा करोडौं क्षति

आगो नियन्त्रण गर्दै नेपालगन्ज उपमहानगरपालिका कार्यालयको दमकल ।

नेपालगन्जमा भएको आगलागीबाट करोडौं रुपैयाँ बराबरको क्षति भएको छ । जिल्लाको जानकी–३ स्थित ‘जेएस स्कुल’ नजिक रहेको स्थानीय तुलसा बस्नेतको घरमा रहेको लक्ष्मी बिजुली भण्डार एण्ड सप्लासर्य र जय हुनमान ट्रेड एण्ड सप्लायर्समा आगलागी भएको हो ।  

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक(डिएसपी) प्रतीत सिंह राठौंरले उक्त आगलागीबाट अनुमानित ४ देखी ५ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए । बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको आशंका छ ।  

बस्नेतको घरमा आइतबार बेलुका एक्कासी आगलागी भएपछि स्थानीय बासिन्दाले दमकल र सुरक्षा निकायलाई खबर गरेका थिए । आगलागी भएको खबर पाएपछि पुगेको नेपालगन्ज उपमहानगरपालिका कार्यालयको दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका हुन् ।  

आगो राति नै पूर्ण रुपमा नियन्त्रणमा आईसकेको प्रहरी प्रवक्ता (डिएसपी) राठौंरले बताए । जिप्रका बाँकेका अनुसार आगो नियन्त्रण गर्न नेपालगन्ज उपमहानगरपालिका बारुणयन्त्र शाखाका कर्मचारीसहित जिल्ला प्रहरी कार्यालय बाँकेका ६० जना, नेपाली सेना र सशस्त्र प्रहरी ४०/४० जना जनशक्ति खटिएका थिए । आगलागीबारे आवश्यक अनुसन्धान भईरहेको बाँके प्रहरीले जनाएको छ ।  

प्रकाशित: २३ कार्तिक २०८३ १३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App