३ वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

कपास प्रशोधन उद्योगमा आगलागी, ८० लाखभन्दा बढी क्षति

झापाको अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा बुधबार आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ ।  

रौतहटका नुर मोहमदद्वारा सञ्चालित उक्त उद्योगमा लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सातवटा दमकलको सहयोगमा निभाइएको थियो ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार आगलागी भएको खबर प्राप्त हुनासाथ बिर्तामोड, मेचीनगर, दमक, कमल गाउँपालिका, भद्रपुर र शिवसताक्षी नगरपालिकाबाट दमकल परिचालन गरिएको थियो । सुरक्षा निकाय र स्थानीयवासीको सक्रिय सहभागितामा आगो फैलिन नदिइ निभाइएको प्रहरीले जनाएको छ ।

इप्रका अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले आगो पूर्ण रूपमा निभाइएको र घटनाबारे अनुसन्धान भइरहेको बताए । आगलागीबाट उद्योगका मेसिन, कच्चा पदार्थ तथा तयारी सामग्री गरी ८० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।  

उद्योग सञ्चालक मोहमदका अनुसार उद्योगमा रहेका तीनवटा मेसिन, करिब ६० क्वीन्टल कालो कपास, २० क्वीन्टल सेतो कपास तथा कपासजन्य अन्य ज्वलनशील सामग्री जलेर नष्ट भएको छ ।

प्रकाशित: २५ चैत्र २०८२ १६:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App