प्रहरीको गोलीले सवारी चालकको ज्यान गएपछि तनावग्रस्त बनेको सुनसरीको लौकही अझै शान्त बनेको छैन । समस्या समाधानमा जुटेका जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालयबीच भर्खरै चार बुँदे सहमति भएको छ।
सहमति अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल प्रहरीका डीएसपी तथा राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टर सदस्य रहने तीन सदस्यीय छानविन समिति गठन भएको छ ।
त्यस्तै मृतककी श्रीमतीलाई रोजगारी खोज्न पहल गर्ने सहमति भएको छ भने मृतकका २१ वर्षे छोरालाई सशस्त्र प्रहरीका भर्ना हुन सहजी गर्ने समझदारी भएको छ ।
प्रशासनले पीडित पक्षका लागि राहत दिन सरकार सिफारिस गर्ने निर्णय गरेको छ ।
यो चार बुँदे सहमतिसँगै स्थानीयबासी, जनप्रतिनिधि तथा प्रशासनका व्यक्तिहरू घटनास्थल गएका छन् । पीडितका आवाज सुन्दै शव उठाउन पहल जारी रहे पनि अझै स्थिति सामान्य बनाउन समय लाग्ने देखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
के थियो घटना ?
सशस्त्र प्रहरीको गोली प्रहारबाट आज बिहान १ बजे राति सुनसरी कोशी गाउँपालिका वडा नं. १, लौकहीमा सिटी सफारी चालकको हत्या भएपछि बिहानैदेखि स्थिति तनावग्रस्त बनेको छ। सशस्त्र प्रहरीको गोली प्रहारबाट सिटी सफारी स्थानीय चालक करिब ४४ वर्षीय विजय शाहको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको हो।
स्थानीयले लौकही बजारको सशस्त्र प्रहरीको डियूटी गर्ने एउटा विटमा आगजनी गरेका छन्। स्थानीयले बिहानैदेखि लौकही बजारमा मृतक शाहको शव सडकमै राखेर प्रदर्शन गरेका छन्। जसका कारण पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारी साधन ठप्प छन्।
आन्दोलन नेतृत्वविहीन भएकाले प्रहरी प्रशासनले उच्च सर्तकता अपनाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले बताए।
भारतीय सीमाबाट करिब ५०० मिटर उत्तरतर्फ पर्ने क्षेत्रमा शाहमाथि सशस्त्र प्रहरीले गोली प्रहार भएको हो। सिटी सफारीमा चिनी, सरफ र सुर्तीजन्य पदार्थ ल्याउँदै गर्दा उनलाई गोली लागेको हो।
सशस्त्र प्रहरीको कोशी प्रदेशस्तरीय मुख्यालय पकली सुनसरीका डीआईजी कुमार न्यौपानेले मृतकसँगै तीन सफारीमा सामान भारतबाट ल्याएको र त्यस क्रममा प्रहरीलाई निसाना बनाएर गोली प्रहार भएकाले जवाफी फायर गरेको जिकिर गरे।
उनका अनुसार तीन सफारीमध्ये दुई सफारी चालकले सामान कटाए। ‘तीन सफारी चालकमध्येबाटै सशस्त्र प्रहरीलाई गोली प्रहार गरेपछि जवाफी फायर गर्दा एकजनाको मृत्यु हुन पुग्यो,’ डीआइजी न्यौपानेले भने।
घटनापछि प्रहरी टोलीले घटनास्थलबाट ठूला हतियारका दुई खोका बरामद गरेको छ।
प्रकाशित: १७ पुस २०८२ १५:३५ बिहीबार





