कोशी पर्यटन वर्ष २०८२ सफल बनाउन कलाकार एवम चलचित्रकर्मीहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार कोशी प्रदेशको पर्यटन वर्षको सचिवालयले आयोजना गरेको अन्तरक्रियामा अधिकांश फिल्मकर्मी तथा कलाकारहरुले पर्यटन बर्ष सफल बनाउन सरकारले सुधारका धेरै काम गर्न बाँकी रहेको पनि औंल्याए ।
चलचित्र निर्देशक मिलन चाम्सले कोशी प्रदेश फिल्म सुटिङका लागि भाग्यमानी प्रदेश रहेको बताउँदै सरकारले धेरै कुरामा सुधार गर्न सुझाव दिए ।
उनले भने,‘पर्यटक पुग्ने पहिलो डेस्टिनेसन एयरपोर्टबाटै सुधार गरौं । मन्त्रीज्यूलाई पनि व्यक्तिगत समस्या लिएर जाने धेरैभए अब समाजको समस्या लिएर जानुपर्यो । प्रदेशमा सुटिङ गर्न पुग्ने चलचित्रकर्मीहरुका लागि विशेष सुविधा र सहुलीयत प्रदान गर्ने किसिमको प्याकेज तयार गर्नुपर्छ,’ उनले अगाडि भने,‘विगत एक बर्ष साँच्चै लक्की भएको छ । किनभने ‘उनको सुइटर, परान, अन्जिलालगायतका फिल्म कोशीमै सुटिङ भएको र सफल भएको छ ।’
कलाकार शिव श्रेष्ठले कोशी प्रदेशमा फिल्म सुटिङ गर्न जानुपूर्व चलचित्र विकास बोर्डले सहजीकरण गर्नुपर्ने र सहज रुपले काम गर्न पाउनुपर्ने बताए । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले फिल्मले पर्यटन स्थलको प्रवद्र्धनमा ठूलो भूमिका निर्वाह गर्ने भएकाले विश्वभरका सिनेकर्मीहरुलाई आकर्षित गर्नुपर्ने बताए ।
उनले भने,‘आज पर्यटकीय स्थलको ब्राडिङ गरियो भने आजै परिणाम नआउला तर कालान्तरमा यसले सफलता पाउँछ ।’ अध्यक्ष डिसीले सिनेमा हलका अगाडि गन्तब्य स्थलको प्रचार गर्ने हो भने विकास बोर्डले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले कोशी पर्यटनका लागि अथाह संभावना भएको प्रदेश भएपनि प्रचार गर्न नसक्दा ओझेलमा परेको बताउँदै पर्यटन बर्षमार्फत प्रदेशको पर्यटनलाई माथि उठाउने बताए ।
बजेट १० करोड विनियोजन भएपनि कानुन बनाउँदा बनाउँदै धेरै समय व्यथित भएकाले अब द्रुत गतिले काम हुने बताए । ‘यतिबेला सबै तहका व्यक्तिहरुको अपनत्व अपनाइदिनुपर्यो । काठमाडौंलाई कोशी पनि छ भन्ने चिनाइदिनुहोला । हामी प्रचारका लागि सबसिटीका लागि बजेट छुट्याउन तयार छौं,’ उनले भने ।
प्रकाशित: १ पुस २०८२ २१:५७ मंगलबार





