कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ मधुवनमा ‘संस्कृति समृद्धि र समादरका लागि गौ संरक्षण’ भन्ने मूल नारासहित श्रीमद्भागवत धन-धान्याञ्चल ज्ञानमहायज्ञ तथा भागीरथी गौ संरक्षण महोत्सव हुने भएको छ।
मधुवनधामस्थित भागीरथी गौ संरक्षण विकास केन्द्रले मंसिर ११ देखि १८ गतेसम्म महोत्सव गर्ने भएको हो। पत्रकार सम्मेलन गरी महोत्सव सम्बन्धी सबै तयारीबारे जानकारी गराएको छ। बाणगंगा नगरपालिका र मधुवनधामलगायतको निकायको सहयोगमा २०८१ असारदेखि गौशाला निर्माण गरी त्यहाँ साढे ३ सय गाईको संरक्षण गरिएको छ।
निर्माण गरिएको गौशालाको स्तरोन्नति सहित १ हजार गाईको संरक्षण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष तथा महोत्सव संयोजक चक्रबहादुर भण्डारीले बताए। छाडा, उपेक्षित, घाइते तथा दुर्घटनामा परेका गाईहरूको उद्धार, उपचार र संरक्षण गर्ने संस्थाको उद्देश्य हो। महोत्सव मार्फत गौ सेवा र गौ संरक्षणबारे व्यापक जनचेतना फैलाउने भण्डारीले बताए।
गौ सेवा अभियानलाई दीर्घकालीन रूपमा फैलाउँदै यस क्षेत्रलाई गौ-पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजना रहेको उनले बताए। एक वर्षभित्र एक हजार गाई पालन गर्ने जनाएको छ। हाल ६ वटा गोठ सञ्चालनमा छन् र २० वटा गोठ निर्माण गर्ने योजना छ।
सडकमा छाडिएका, बाटोमा छोडिएका, उपेक्षित, खुट्टा भाँचिएका वा सवारी दुर्घटनामा परेका गाईहरूलाई सुरक्षित स्थानमा ल्याई उपचार, पोषण र संरक्षणको व्यवस्था गरिँदै आएको छ। वडा नं. ८ का वडा अध्यक्ष बाबुराम अर्यालले गौ संरक्षण केन्द्रलाई नै नगरपालिकाको छाडा पशु व्यवस्थापनको प्रमुख जिम्मेवारी तोकिएको बताए।
नगरपालिकाले कोठीमा अहिले पनि ५ सयभन्दा बढी छाडा चौपायाको अस्थायी व्यवस्था गरेको र ती गाई पनि यही पठाइने तयारी गरिएको बताए। महोत्सवका निर्देशक गुणनिधि भुसालले गौशालालाई पर्यटन र आयआर्जनको माध्यम बनाउने योजना रहेको बताए। छाडा पशु व्यवस्थापनका लागि प्रत्येक ५० पशुमाथि एक हेरालु नियुक्त गरिएको उनले बताए।
गाईको उद्धारदेखि उपचार र दीर्घ संरक्षणसम्मको सम्पूर्ण सेवा प्रदान गरिने उनले बताए। नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने बताए। महोत्सवका लागि ११ सय सदस्यको मूल आयोजक समिति समेत निर्माण गरेको छ।
प्रकाशित: १० मंसिर २०८२ १४:२६ बुधबार





