नेपाल पत्रकार महासङ्घले सङ्क्रमणकालीन अवस्थाको अन्त्यसहित शान्तिपूर्ण समाधानका लागि पहल गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेको छ।
महासङ्घका अध्यक्ष निर्मला शर्माले आज एक विज्ञप्ति जारी गर्दै मूलतः वर्तमान संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरूमार्फत समाधान खोज्दै मुलुकलाई सहज निकास दिनुपर्ने माग गरेकी हुन्।
मुलुकको निकास गर्ने क्रममा राष्ट्रपतिले वार्ताका लागि जेनजी प्रतिनिधिलाई आह्वान गरिसकेको अवस्थामा सुरक्षा निकायले सहजीकरण गरी यथाशीघ्र अन्तरिक सरकार बनाउने कार्यको पहल राष्ट्रपतिबाट हुनुपर्नेमा महासङ्घले जोड दिएको छ।
यस प्रक्रियाका लागि सहजीकरण गर्न पत्रकार महासङ्घलगायत छ वटा पेसागत सञ्जाल पापड तयार रहेको जनाइएको छ। 'सबै राजनीतिक समस्या समाधानको प्रयास राष्ट्रपति कार्यालयबाट हुनुपर्छ, जङ्गी अड्डाबाट होइन भन्ने महासङ्घको ठहर छ। पछिल्लो समय शान्तिसुरक्षा कायम गर्न सेनाले खेलेको भूमिका सराहनीय छ,' महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
जेनजी पुस्ताले उठाएको संरचनात्मक सुधारका मागलाई समेट्दै लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै थप उपलब्धि हासिल गर्न जरुरी रहेको उल्लेख गर्दै महासङ्घले संयम र संवेदनशील भएर इतिहासको यो कठिन र निर्णायक मोडमा जिम्मेवार बन्न सबै सरोकार भएका पक्षलाई हार्दिक अपिल गरेको छ।
महासङ्घ लोकतन्त्र, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि निरन्तर वकालत गर्दै आएको भन्दै अहिले सरकारले राजीनामा दिएको र अर्को सरकार बनिनसकेकाले मुलुक सङ्क्रमणकालीन अवस्थामा रहेको अवस्थामा शीघ्र मुलुकको निकास खेज्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
महासङ्घले भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखेर भएको युवा पुस्ताको प्रदर्शनका क्रममा निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।
जनतालाई सुसूचित गर्न र शान्ति र लोकतन्त्रका लागि सधैँ क्रियाशील रहने पत्रकारहरू र सञ्चारमाध्यमलाई प्रदर्शनकारीले निशाना बनाइएको दुःखद् भएको अध्यक्ष शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
प्रकाशित: २६ भाद्र २०८२ १६:५६ बिहीबार





