१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

कृषिमन्त्री चाैधरीलाई बुवाको सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४ असैनाकी ३३ वर्षीय गीता चौधरी कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्री बनेपछि बुवा जयराम डगौंराले जनताको हितमा काम गर्न सुझाएका छन्।

‘छोरी मन्त्री बनेको खबरले हाम्रो परिवारमा खुसी छाएको छ।’ गीताका बुवा जयरामले भने, ‘सिङ्गो देशका जनता खुसी हुने गरी छोरीले पाएको जिम्मेवारी बहन गर्न सकोस।’

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा समानुपातिक सांसद बनेकी गीता यहाँबाट चौधरी समुदायबाट सङ्घीय सरकारको मन्त्री बन्ने पहिलो थारु महिला हुन्। शुक्लाफाँटा नगरपालिका–३ स्थित जनज्योति आधारभूत विद्यालय जोनापुरमा प्रावि तहको अध्ययन गरेकी चौधरीले माध्यमिक तहको अध्ययन राष्ट्रिय मावि पिपलाडीबाट गरेकी थिइन्। झलारी बजारमा रहेको श्रीकृष्ण उच्च माविबाट प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेकी उनले काठमाडौँ स्कुल एफ लबाट स्नातक र स्नाकोत्तर तह नेपाल ल क्याम्पसबाट पूरा गरेकी छन्। चौधरी  कानुन व्यवसायीसमेत हुन्।

‘सात बहिनी र एक भाइमध्येकी माहिली गीता बाल्यकालदेखि नै अध्ययन र समाजका हुने विभेद् र कुरुतिकाविरुद्ध बोल्थिन्।’ बुवा जयरामले भने–‘हामी निम्म आयस्रोत भएको परिवारबाट मन्त्री बनेको खबरले हर्षित छौँ।’ साधारण लेखपढ गरेका गीताका बुवा जयरामले छोराछोरी पढाउन निकै सङ्घर्ष गरेको बताए।  

‘खेती किसानी र पछिल्लो समय सटरिङको काम गरेर घरखर्च र छोराछोरीको खर्च जुटाउँदै आएको छु’, उनले भने–‘छोरीको मेहनत र अध्ययन सफलताले यहाँसम्मको सफलता मिलेको हो।’

त्यसैगरी मन्त्री गीताका फूपाजु डम्बर चौधरीले अध्ययनका लागि निकै दुखः गरेको बताए। ‘पढाइका लागि ऋण गरेर भए पनि पछि नहट्ने बानी थियो’, उनले भने, ‘विवाहपछि अध्ययनसँगै र राजनीतिमा होमिएर यो स्थान बनाइन्।’

बुटवलको सैनामैनाका सुनिल चौधरीसित विवाह गरेकी चोधरीका एक छोरी छिन्। गीताका श्रीमान् सुनिल कृषि क्याम्पसमा अध्यापन गर्छन्। विभिन्न क्लब, बाल क्लब र संस्थामा आवद्ध हुन मन पराउने चौधरी करातेको समेत खेलाडी हुन्। चौधरीले भने, ‘घरको दयनीय अवस्थाकाबीच पनि गीताले गरेको सङ्घर्ष प्रेरणादायी छ।’

नागरिक उन्मुक्ति पार्टीबाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गीता सुदूरपश्चिम प्रदेशसभा सदस्यमा उम्मेदवार बनेकी थिइन्। पहिलो पटक उम्मेदवार हुँदा पनि उनले सम्मानजनक मत पाएकी थिइन्। केही समयअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी चौधरीलाई रास्वपाले समानुपातिक उम्मेदवार बनाएको थियो। रासस

प्रकाशित: १३ चैत्र २०८२ १४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App