४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

जंगली जनावरको आतंकले किसान खेतबारीमै रात काट्न बाध्य

जंगली जनावरले मकैबालीलगायतका बाली र तरकारी सखाप पार्न थालेपछि यहाँका किसानको बास खेतबारीमै हुन थालेको छ।  

बँदेल, दुम्सी, बाँदर, भालुले अन्नबाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन्। जिल्लाका १० वटै स्थानीय तहमा जंगली बँदेलले मकैबालीमा क्षति पुर्‍याउने गरेको छ। दोगडाकेदार गाउँपालिकामा जंगली बँदेलले मकैबाली नष्ट गरेर हैरान बनाएको स्थानीय चन्द्रसिंह विष्टले बताए। मकैबाली जोगाउन रातदिन बारीमै बास बस्दै आएको उनको भनाइ छ।  

उनले भने, ‘रातदिन जाग्राम बस्दा पनि मकैबाली जोगाउन मुस्किल भएको छ। खेतबारीमा टहरा बनाएर पहरा दिँदा मकैबाली जोगाउन सकिएको छैन।’ भर्खरै घोगा लाग्न लागेको मकैबाली बँदेलले नष्ट गर्न थालेपछि किसानमा भोकमरी हुने चिन्ता छाएको पुर्चौडी नगरपालिकाका पुरनसिंह ऐरले बताए।  

बैतडी मकै उत्पादन हुने जिल्ला भएकाले यहाँको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सूर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा मकै जोन कार्यक्रम सञ्चालनमा छ।  

ती स्थानीय तहमा किसानलाई मकैबाली जोगाउन धौ–धौ परेको मकै जोन कार्यालयकी नायब प्राविधिक सहायक भावना भट्टले बताए। हरेक वर्ष मकैबालीमा जंगली जनावरले क्षति पुर्‍याउने गरेको पञ्चेश्वर गाउँपालिका–०४ का किसान रामदत्त भट्टले बताए। उनले भने, ‘मकै जोगाउन खेतमा टहरा बनाएर बस्दा जंगली बँदेलले मकैबाली नष्ट गर्ने गरेको छ। रातभर जाग्राम बस्दा पनि मकैबाली जोगाउन धौ–धौ परेको छ। हरेक वर्ष मकैबाली जोगाउन दुई महिना अनिदो बस्नुपर्छ।’  

बैतडीमा १२ हजार एक सय हेक्टरमा मकैखेती गरिन्छ। जंगली जनावरकै कारण मकैखेती गर्ने किसानको संख्या घट्दै गएको छ। कतिपयले खेत बाँझै राखेका छन्। रासस

प्रकाशित: १९ श्रावण २०८२ ०६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App