‘असारको १५ दही र चिउरा, साउनको १५ खिर
असारको १५ गइसक्यो, मल छैन किसानलाई पिरै पिर ।’
पूर्वि चितवनको खैरहनी–१० स्थित कठारका किसानले लोकभाका मार्फत आफ्ना समस्या सरकारवालालाई यसरी सुनाएका थिए । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई चितवनको आयोजनामा भएको धान दिवस कार्यक्रममा महिला दिदीबहिनीले रासायनिक मल नपाउँदाको पीडा पोखेका हुन् ।
‘धान रोपाईँ सकिन लाइसक्यो । हामीले मल पाएका छैनौँ,’ महिला साना किसान सहकारी संस्थाकी व्यवस्थापक पुर्णमायाँ अधिकारीले भनिन् ‘मैले एक बिघामा मल नहाली धान रोप्नुपरेको छ ।’ मुख्य खाद्यान्नबाली धान बाली लगाउने बेलामा रासायनिक मल नपाएर किसानहरुले समस्यामा झेल्नुपरेको उनले बताइन् ।
कृषि सामाग्री लिमिटेड चितवनका अनुसार चितवनमा असार १५ गतेदेखि स्थानीय तहले युरिया मल वितरण गर्न सुरु गरेका छन् । ‘यसपटक हामीले स्थानीय पालिका मार्फत ६६१ टन यूरिया मल बाढ्दै छौँ,’ उनले भने ‘पोटास र डिएपि मल हामीसँग छैन ।’ धान रोपाइँको समयमा किसानलाई युरियाभन्दा बढी डिएपि र पोटस मल आवश्यक पर्छ । यद्यपि इरान युद्धका कारण मलको अभाव खेप्नुपरेको कृषि सामाग्री लिमिटेड चितवनका प्रमुख राजन बगाले बताउँछन् ।
चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा अनुदानको मल वितरण हुँदै आएको छ । सोमबारदेखि भरतपुर महानगरपालिकामा २३४, माडी नगरपालिकामा ११५, खैरहनी नगरपालिकामा ८७, रत्ननगर नगरपालिकामा ७७, राप्ती नगरपालिकामा ६३, कालिका नगरपालिकामा ५२ र इच्छाकामना गाउँपालिकामा ३३ टन यूरिया मल वितरण हुँदैछ । चितवनको लागि यो मल प्राप्त नभएको उनले बताए । अघिल्लो वर्षभन्दा युरिया मल एक हजार क्विन्टल बढी वितरण हुने उनले बताए ।
‘हामीले अघिल्ला महिनामा पनि यूरिया वितरण गरेका थियौँ । अहिलेसम्म ४ हजार टनको हाराहारीमा मल वितरण गरेका छौँ,’ उनले भने ‘अघिल्लो वर्ष ३ हजार टनमा बिक्री भएको थियो ।’ गत वर्ष जिल्लामा पोटास ३ हजार ४८३, डिएपि २ हजार ८४५ टन वितरण भएको कार्यालय प्रमुख बगालेले बताए । कार्यालयले प्रतिबोरा (५० केजि) युरिया मलको ८४६, डिएपि मलको २ हजार २५७ र पोटसको १ हजार ६९७ रुपैयाँका दरले किसानलाई बिक्री गर्दै आएको छ ।
सरकारी स्वामित्वमा रहेका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले स्थानीय पालिकालाई मल वितरण गर्न दिने गर्दछन् । अनि स्थानीय पालिकाले कृषि सहकारी, समूह, साना किसान, व्यावसायिक फर्म तथा विभिन्न एग्रोभेटमार्फत अनुदानको रासायनिक मल वितरण गर्ने गर्दछ । जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख झलक नाथ कँडेलका अनुसार चितवनमा अहिले रासायनिक मलको अभाव भएको बताउँछन् । ‘अहिले जता गएपनि किसानले मलकै कुरा गर्नुहुन्छ,’ उनले भने ‘अघिल्लो वर्षभन्दा यस वर्ष मलको चरम अभाव छ ।’
कँडेलका अनुसार यतिबेला किसानलाई युरियाभन्दा डिएपि मलको आवश्यकता पर्दछ । ‘खेत रोप्नेबेलामा डिएपी र पोटास पूर्ण रुपमा हाल्नुपर्छ,’ उनले भने ‘युरिया त यतिखेर एक तिहाई हालेपनि पुग्छ ।’ किसानले युरिया मल तीन पटक सम्म हाल्ने गर्दछन् भने पोटास र युरिया एक पटक मात्र हाल्दछन् ।
सरकारले मापदण्ड नै बनाएर किसानलाई प्रतिकठ्ठा २ केजी मल उपलब्ध गराउन निर्देशन दिएको छ । असार १५ कटिसक्दा पनि किसानले मल पाउन सकेका छैनन । कँडेलका अनुसार जिल्लामा २१ हजार ९१७ मेट्रिक टन युरिया र १३ हजार ८३ मेट्रिक टन डीएपी मल आवश्यक पर्छ । अहिले चितवन आउने मलले आवश्यकताको २५ प्रतिशत पनि नधान्ने उनको अनुमान छ ।
जिल्लामा अघिल्लो वर्ष २७ हजार ३२५ हेक्टर क्षेत्रफलमा बर्षे धान खेती भएको थियो । क्षेत्रफल बढि भएकाले पनि चितवनमा सबैभन्दा बढी धान बालीमा रासायनिक मलको प्रयोग हुँदै आएको छ । त्यसपछि मकै, तरकारी, केरा लगायतका फलफलुलमा रासायनिक मलको खपत बढिरहेको छ ।
मेसिनबाट धान रोपेर २३ औँ राष्ट्रिय धान दिवस मनाइयो
चितवनमा आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहान गर्ने उद्देश्यले मेसिनबाट धान रोपेर २३ औैँ राष्ट्रिय धान दिवस तथा रोपाइ्ँ महोत्सव मनाइएको छ । जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ सोमबार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाई चितवन र खैरहनी–१०मा रहेको महिला साना किसान कृषि सहकारी संस्था संयुक्त आयोजनामा धान दिवस मनाउन लागिएको हो ।
महिला साना किसान कृषि सहकारी संस्थाको परिसरमा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख नारायणप्रसाद अधिकारी, खैरहनी नगरपालिकाका प्रमुख शशी खाँनिया, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, कृषि मन्त्रालय बागमती प्रदेशका सचिव सुधिर श्रेष्ठलगायतको उपस्थिती रहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले जानकारी दिए ।
प्रकाशित: १५ असार २०८३ १७:५२ सोमबार





