जुम्लामा पछिल्ला वर्षहरूमा मौरीपालन किसानका लागि आम्दानीको बलियो आधार बन्दै गएको छ।
सीमित खेतीयोग्य जमिन र रोजगारीको अभावका बीच यहाँका ग्रामीण किसानले यसलाई भरपर्दो आयस्रोत बनाएका छन्। महको मूल्य निरन्तर बढिरहेकाले उत्पादन सीमित भए पनि यसले किसानलाई राम्रो नगद आम्दानी दिलाइरहेको छ।
जिल्लास्थित मौरीपालन सहकारीको तथ्यांकअनुसार जुम्लामा ५ सयभन्दा बढी किसान यस व्यवसायमा संलग्न छन्। उनीहरूले न्यूनतम ५ देखि अधिकतम ६० वटासम्म मौरीघार राखेका छन्।
हाल जिल्लाभर करिब १ हजार ६ सय घार मौरी रहेको अनुमान छ। ती घारबाट बर्सेनि न्यूनतम २ करोड रुपैयाँ बराबरको मह कारोबार हुने गरेको तथ्यांकले औंल्याएको छ।
चन्दननाथ नगरपालिका–४ मालाभिडका नारायण चौलागाईँ मौरीपालनबाटै जीविकोपार्जन गर्नेमध्येका एक हुन्। उनीसँग हाल १६ वटा मौरीघार छन्। उत्पादन बढाउन र व्यवस्थापन सहज गर्न परम्परागतभन्दा ‘न्युटन घार’ बढी उपयुक्त हुने उनीसहितका किसानहरूको अनुभव छ।
व्यवसायको सम्भावना राम्रो भए पनि प्राकृतिक वातावरणसँग जोडिएका चुनौतीहरू थपिएका छन्। पछिल्लो समय जलवायु परिवर्तन र लामो खडेरीका कारण फूल फुले पनि पर्याप्त रस नहुने समस्या प्रस्ट हुन्छ। स्थानीय किसान धनजीत बुढा भन्छन् , ‘फूलहरू फुल्छन्, तर रस भरिएको हुँदैन। यसका कारण मौरीलाई कृत्रिम आहार दिनुपर्ने बाध्यता बढ्दै गएको छ।’
एकातिर मौसमी प्रतिकूलता छ भने अर्कोतिर सरकारी नीति, प्राविधिक सहयोग, बिमा र संरक्षण कार्यक्रमको अभावले यो क्षेत्र अझै व्यवस्थित हुन सकेको छैन। सरोकारवाला निकायले आगामी वर्षका लागि भने नीतिगत सुधार र कार्यक्रमबारे बल्ल छलफल भइरहेको बताएका छन्।
जुम्लाका किसानका लागि मौरीपालन केवल मह उत्पादन मात्र नभई समग्र ग्रामीण अर्थतन्त्र चलायमान बनाउने माध्यम हो। महको मिठासले किसानमा जगाएको आशालाई मर्न नदिन स्थानीय, प्रदेश र संघीय सरकारले स्पष्ट नीतिसहित जिम्मेवार पहल गर्नुपर्ने आवश्यकता देखिएको छ।
प्रकाशित: १ चैत्र २०८२ १८:२२ आइतबार





