२० चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

किसानलाई गहुँबाली भित्र्याउने चटारो

कैलालीका किसानलाई यतिबेला गहुँबाली भित्र्याउन चटारो छ । अचेल गहुँ, मसुरोलगायत बाली भित्र्याउन यहाँका खेतबारी कृषकहरू व्यस्त देखिन्छन् ।

धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका कृषक करमदास चौधरी पनि अरु किसानजस्तै गहुँबाली भित्र्याउन व्यस्त छन् । उहाँले भने, ‘घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको छ ।  अचेल बिहान सबेरै उठेर खेतमा जाने र झिसमिसे अध्याँरोमा फर्किने दिनचर्या नै बनेको छ ।’  

केही दिनदेखि गर्मी बढ्दै गएको र मौसम एकनास नरहेकाले वर्षा हुनसक्ने भन्दै गहुँबाली भित्र्याउनका लागि आफूजस्तै किसानको अधिकांश समय खेतबारी मै बित्ने गरेको चौधरीको भनाइ छ ।  

स्थानीय कृषक हरिराम चौधरीले गहुँ काटेर अब दाइँ गर्ने तयारीमा रहेको बताए । ‘केही दिनदेखि मौसम फेरबदल भइरहेको छ, कतिबेला बादल लाग्छ त कतिबेला हावाहुरी चलेर पानी आउँला झै हुन्छ । त्यसैले पनि गहुँबाली छिटो भित्र्याउने चटारो छ’, उनले भने।

पछिल्लो समय कृषिमा आधुनिकीकरणसँगै आधुनिक उपकरणहरू प्रयोग गर्दा गहुँ दाइँ गर्न केही सहज भइरहेको किसानले बताउने गरेका छन् । कतिपय किसानले भने एकअर्कासँग पालोपैचो तथा पर्मा गर्दै गहुँ काट्ने र ‘थ्रिसेर’ लगाएर भित्र्याउने गर्ने गरेका छन् ।  

वर्षभरिको अन्न मात्रै होइन, बाँकी रहेको गहुँ तथा दलहन बेचेर घर खर्चको जोहो गर्ने समय पनि भएकाले किसानहरू त्यसैमा लागिरहेका छन् । यसवर्ष यहाँका किसानहरूले विजय, गौतम, धौलागिरीलगायत विभिन्न जातका गहुँ लगाएका छन् ।  

प्रकाशित: २० चैत्र २०८२ १८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App