विश्वकप फुटबल २०२६ अन्तर्गत अर्जेन्टिना र स्विट्जरल्याण्ड बीचको क्वार्टरफाइनल खेलका क्रममा चर्चित अमेरिकी युट्युबर एवं स्ट्रिमर आईशोस्पिड नेपाली झन्डासहित देखिएका छन्।
रंगशालामा एक नेपाली प्रशंसकले उनलाई नेपालको झन्डा दिएपछि उनले नेपाल भ्रमण गर्ने इच्छासमेत व्यक्त गरेका छन्।
मियामी रंगशालामा खेल चलिरहेका बेला सोहेल नामक एक नेपाली युवाले आईशोस्पिडलाई नेपालको राष्ट्रिय झन्डा देखाएका थिए। उनले उत्सुकतापूर्वक उक्त झन्डा आफ्नो हातमा लिँदै क्यामेरा र दर्शकदीर्घातर्फ फहराएका थिए।
झन्डा हल्लाउँदै उनले भने, ‘के म अब अर्को पटक नेपाल जाउँ ?’
विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोका कट्टर प्रशंसकका रूपमा परिचित आईशोस्पिड आइतबारको खेलका क्रममा भने अर्जेन्टिनाको जर्सी पहिरिएर रंगशालामा उपस्थित थिए।
उनले जुन टोलीलाई समर्थन गर्छन् वा जसको जर्सी लगाउँछन्, सोही टोलीले खेल हार्ने गरेको भन्दै सामाजिक सञ्जालमा चर्चित ‘स्पिड कर्स’ नामक ठट्टालाई पछ्याउँदै उनले प्रतिद्वन्द्वी टोलीलाई हराउने योजनासहित अर्जेन्टिनाको जर्सी लगाएका थिए।
यद्यपि उक्त खेलमा अर्जेन्टिनाले स्विट्जरल्याण्डलाई ३-१ ले पराजित गरेको छ। युट्युबमा ५ करोड ७६ लाख भन्दा बढी फलोअर रहेका यी कन्टेन्ट क्रिएटर विश्वभरका युवामाझ अत्यन्तै लोकप्रिय छन्।
प्रकाशित: २८ असार २०८३ १६:३४ आइतबार




-600x400.jpg)
