रातु नदीको बाँध विभिन्न तीन ठाउँमा भत्किएपछि महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वर जलमग्न भएको छ।
ढल तथा निकासको अभावमा बाढीको पानी बजार क्षेत्रमा जम्दा जनजीवन अस्तव्यस्त बन्नुका साथै आसपासका गाउँमा पोटाउन लागेको धानबाली सखाप भएको छ।
बलवा नगरपालिकाको वन्चौरी तथा महोत्तरी गाउँपालिकाको गोरिगमा र मडै बस्ती नजिक मंगलबार रातु नदीको बाँध फुटेको थियो।
बुधबार साँझदेखि बजार पसेको बाढीले जलेश्वर-१ स्थित नगरपालिकाचोकदेखि हटिया क्षेत्रसम्मको भू-भाग डुबानमा पारेको छ।
सडकमा बाढी बगेपछि यातायातका साधन ठप्प भएका छन् भने स्थानीयलाई हिँडडुल गर्न समेत सास्ती भएको जलेश्वर-१ का विनोद पासवानले बताए।
बाढीले मडै र गोरीगमामा खेत कटान गर्नुका साथै महोत्तरी गाउँपालिकाका रतबारा, मडै, गोरिगामा तथा जलेश्वर नगरपालिकाका छोट्का रतबारा, बजराही र धवौलीमा धानबाली सोत्तर बनाएको छ।
‘बर्सेनि यिनै ठाउँमा बाँध भत्किने गर्छ, गत वर्ष पनि वन्चौरीमै फुटेको थियो,” महोत्तरी-६ गोरीगमाका किसान भोला महतोले भने, ’पोटाउने बेलाको धानबाली बाढीले लडाएर पूर्ण रूपमा नोक्सान पुर्याएको छ।’
सदरमुकाम नै डुबानमा परेपछि भत्किएको बाँध मर्मतसम्भार र पानीको निकास खुलाउने कार्य तत्काल अघि बढाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
जलेश्वरको पुछार क्षेत्रबाट पानीको निकास खोल्ने प्रबन्ध मिलाइएको उनले बताए।
प्रकाशित: १५ आश्विन २०८३ २१:५५ बिहीबार





-600x400.jpg)