२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

एक हजार जनाको पारिवारिक पुनर्मिलन

संरक्षणको आवश्यकता भएका महिला, किशोरी तथा बालबालिकालाई आश्रय दिँदै आएको आदर्श गृह नेपालले हालसम्म एक हजार १८१ जनाको पारिवारिक पुनर्मिलन गराएको छ।

मानवीय सेवा, संरक्षण, पुनःस्थापना तथा सामाजिक रूपान्तरणका क्षेत्रमा क्रियाशील उक्त संस्थाले २०६६ वैशाख १ गतेदेखि भरतपुरमा रहेर हिंसा प्रभावित, मानव बेचबिखन तथा ओसारपसारमा परेका र संरक्षणको आवश्यकता भएका महिला तथा बालबालिकालाई सुरक्षित आश्रय प्रदान गर्दै आएको छ। संस्थाकी अध्यक्ष मीनाकुमारी खरेलका अनुसार गृहमा हुर्किएका दुई छात्राले स्नातकोत्तर, तीन जनाले स्नातक र १२ जनाले उच्च शिक्षा हासिल गरेका छन्। त्यस्तै, नौ जनाले प्राविधिक शिक्षा तथा ४६ जनाले प्राविधिक र औपचारिक सीपमूलक तालिम लिएर रोजगारी पाएका छन्।

हाल गृहमा आश्रित १७ जनालाई भरतपुर महानगरपालिकाले छात्रवृत्ति उपलब्ध गराएर अध्ययन गराइरहेको छ भने २४ जना निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत छन्। गृहमा हुर्किएका १३ जना अन्य संस्थामा गएका, छ जना वैदेशिक रोजगारीमा गएका र दुई जनाको संस्थाकै अगुवाइमा विवाह गराइएको अध्यक्ष खरेलले जानकारी दिइन्।

संस्थाको पहलमा जिल्ला, पुनरावेदन तथा सर्वोच्च अदालत र मेलमिलाप केन्द्रमार्फत न्याय प्राप्त गरेका तथा न्यायिक प्रक्रियामा रहेका ३३४ जना छन्। संस्थासँग सम्बन्धित चारवटा मुद्दा विचाराधीन छन्। त्यस्तै, गृहले २० जनालाई बीउपुँजी उपलब्ध गराएर व्यवसाय सञ्चालनमा सहयोग गरेको छ।

भरतपुर महानगरपालिका–४ वैदिकनगरस्थित गृहमा हाल ३२ जनाले आश्रय लिइरहेका छन्। उनीहरू हिंसा प्रभावित, मानव बेचबिखन तथा ओसारपसारमा परेका र अनाथ बालबालिका हुन्। आश्रितहरूको दीर्घकालीन व्यवस्थापनका लागि गृहले भरतपुर महानगरपालिका–१५ विश्वप्रकाश टोलमा आफ्नै जग्गामा सुविधासम्पन्न आश्रम निर्माण गरिरहेको छ।

संस्थाकी संस्थापक अध्यक्ष खरेलले एक कठ्ठा जग्गा दान गरेकी छिन् भने दुई कठ्ठा १३ धुर जग्गा उपयोगका लागि उपलब्ध गराएकी छिन्। त्यस्तै, ४९ जना दाताले थप तीन कठ्ठा जग्गा खरिद गर्न सहयोग गरेका छन्। उक्त जग्गामा रु सात करोड ५० लाखको लागतमा चारतले सुविधासम्पन्न आश्रम निर्माण भइरहेको छ। आश्रममा ७० बालबालिका र ३० महिलालाई राख्न सकिनेछ। गृहमा हुर्किएर विवाह गरी गएका छोरीज्वाइँ तथा अन्य पाहुनाका लागि पाहुना कक्ष र प्रशासनिक भवनसमेत निर्माण गरिने संस्थाले जनाएको छ।

दाताको सहयोगमा सञ्चालन हुँदै आएको गृहले आश्रम निर्माणका लागि यही कात्तिक २८ गतेदेखि आगामी मङ्सिर ८ गतेसम्म महायज्ञ आयोजना गर्ने भएको छ। संस्थाका सचिव अर्जुन अधिकारीका अनुसार नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको विशेष उपस्थितिमा महायज्ञ आयोजना गर्न लागिएको हो। अध्यक्ष खरेलले आफ्नो जीवनको सम्पूर्ण समय हिंसा प्रभावित तथा अनाथको संरक्षणमा समर्पित गरेको उल्लेख गर्दै सचिव अधिकारीले सबैको साथ र सहयोगबाट सुविधासम्पन्न आश्रम निर्माण गरी प्रभावितलाई सुरक्षित आश्रय प्रदान गर्ने लक्ष्य रहेको बताए।

प्रकाशित: २० कार्तिक २०८३ ११:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App