२४ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

आफन्त नभेटिएपछि गाउँ फर्किए परिवार

बागलुङ तमानखोला गाउँपालिकाका जगबहादुर छन्त्याल अपरत्रिशूली हाइड्रोपावर-२१६ को बेपत्ता दाजु खोज्न घरदेखि रसुवाको धुन्चेसम्म १० दिन बिताए। यो अवधिमा नुवाकोटस्थित उद्धारमा रहेको हेलिप्याड, सेनाको ब्यारेक र धुन्चे हुँदै रसुवाको हाइड्रोपावर नजिकसम्म पुगे।

उनले काठमाडौंका सबै अस्पतालमा दाजुलाई खोजे। खोजीका क्रममा चार दिन धुन्चेमै बिताए। यस बिचमा देखे जति ठाउँमा छिटो उद्धारका लागि गुहार मागे। कतै नभेटेपछि उनी सोमबार काठमाडौंबाट गाउँ फर्किए।

गत भदौ १० को भोटेकोसी बाढीका कारण अपरत्रिशूली हाइड्रोपावर– २१६ मेगावाट परियोजनाको सुरुङभित्र काम गरिरहेकै बखत छन्त्याल बेपत्ता भएका हुन्।

सरकारले १२ दिनसम्म दाजुको खबर पाउन नसकेपछि थकित बनेर गाउँ फर्किएको उनी बताउँछन्। ‘अब सरकारले खोजी गरी सत्यतथ्य पत्ता लगाई हामीलाई खबर गरोस् भनेर हिँडियो’, उनले भने।

सरकारले समयमै खोजी कार्य सुरु गरेको भए सुरुङभित्र फसेका धेरै कामदारको उद्धार सम्भव रहेको तर समयमै ध्यान नपुर्‍याएको उनको गुनासो छ। ‘सरकारले सुरुङभित्रको खोजी कार्यलाई बेवास्ता गर्‍यो र ढिला हुँदा धेरै कुरा बिग्रियो’, उनले भने।

सोही पालिकाका तारानाथ श्रीपाली पनि दश दिनसम्म सोही सुरुङबाट बेपत्ता भीमबहादुर बिकको खोजीमा हिँडे। यस क्रममा धुन्चे, त्रिशूली, काठमाडौंका सरकारी अस्पताल र चितवनमा पुगेर खोजे तर भाइको कतै केही नभेटिएपछि उनी पनि सोमबार साँझ गाउँ पुगेका छन्।

यो क्रममा उनी काठमाडौंस्थित पावर चाइनाको कार्यालय कम्पनीमा पनि पुगे। ‘कतै घाइते भएर बसेको छ कि भनेर सबै अस्पतालका बेडमा पुगेर हेरे, कतै भेटिएन’, उनले भने।

घटनाको १२ दिन बितिसक्दा पनि सुरुङबाट एकजना चिनियाँबाहेक कोही ननिस्किएपछि आशा मरेको उनी बताउँछन्। ‘खोज्न गएका मान्छेसँग घरका आफन्तलाई दिने जवाफ छैन। परिवार पाल्ने उही हो। उसका छोराछोरी पढ्दैछन्’, उनले भने।

सरकारले खोजी कार्य जारी राखेको भन्ने जानकारी पाएपछि उनी बेपत्ता भाइको विवरण कम्पनी र सरकारी निकायमा बुझाएर घर फर्किएका हुन्। भदौ ११ गते उनीसहित गाउँपालिका अध्यक्ष जोकलाल बुढा, आफन्त गरी २५ जना घरबाट हिँडेका थिए। तीमध्ये धेरैजना नुवाकोट र रसुवासमेत पुगेर घटनास्थल परैबाट नियालेका थिए।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा पनि बेपत्ता गाउँलेको खोजीमा घटनास्थलनजिक, रसुवा, नुवाकोट, काठमाडौंका विभिन्न निकायमा पुगेका हुन्। उनी पनि सोमबार नै गाउँ फर्किएका छन्। उनका अनुसार तमानखोलाभित्रका मात्र नौजना सोही सुरुङमा काम गर्दा बेपत्ता भएका छन्।

सोही पालिकाबाट बेपत्ता हुनेमा ३२ वर्षीय इन्द्रकुमार विक, २२ वर्षीय विष्णु घर्ती मगर, ३७ वर्षीय भीमबहादुर छन्त्याल, ५० वर्षीय खडक छन्त्याल, २२ वर्षीय सजय श्रीपाली, ५० वर्षीय ढलप्रसाद बुढा, ५८ वर्षीय लाता कामी, ४७ वर्षीय भीमबहादुर विक छन्।

त्यसबाहेक बागलुङका विभिन्न पालिाकाबाट गरी १६ जना सुरुङमा काम गर्दा नै बेपत्ता भएका हुन्। २५ जना खोजीका लागि त्रिशूली र रसुवा पुगेका थिए। तीमध्ये धेरैजसो गाउँ फर्किसकेका छन्। पालिका अध्यक्ष बुढाका अनुसार निर्माणाधीन सुरुङमा समयमै उद्धार कायृ हुन नसकेका कारण अपेक्षित संख्यामा जीवित उद्धार हुन नसकेको उनको विश्लेषण छ। ‘सरकारले उद्धार गर्छु भने पनि एकातिर सुरुङ अप्ठेरो ठाउँमा छ, अर्कातिर सरकारसँग निर्माणाधीन सुरुङबाट उद्धार कार्य गर्न उपकरण छैन’, उनले भने।

अपरत्रिशूली– १ र अपरत्रिशूलीमा गरी एक हजार ४ सय ३३ जना कामदार रहेकोमा ८ सय ७६ जनाको उद्धार भइसकेको र ५ सय ५७ जना अझै बेपत्ता रहेकाले उनीहरूको उद्धार कार्यमा सहयोग गर्न सरकारलाई अनुरोध गरेको जनाएको छ।

प्रकाशित: २४ भाद्र २०८३ १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App