६ मंसिर २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नेपालसहित विश्वभर सुनको मूल्य घट्नुमा मोदीको हात, उनकै मन्त्रीले सुनाए यस्तो तर्क

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एउटा अपिलका कारण भारतमा सुन खरिद घटेको र त्यसले नेपालसहित विश्व बजारमा सुनको मूल्य प्रभावित भएको भारतका केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलले दाबी गरेका छन्।

आइतबार पत्रकारहरूसँग कुरा गर्दै मन्त्री गोयलले भारतीय नागरिकले मोदीको आग्रहलाई गम्भीरतापूर्वक लिएको र सुन आयात घटाउँदा विश्वव्यापी सुनको मूल्यमा समेत प्रभाव परेको बताएका हुन्।

उनका अनुसार मोदीले विदेशी मुद्रा सञ्चिति सुन आयातमा मात्र खर्च नगरी बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नागरिकलाई आग्रह गरेका थिए। भारतीय नागरिकले उक्त आग्रह पालना गरेपछि सुनको आयात घटेको उनको भनाइ छ।

गोयलले भने, 'प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी मुद्रा सञ्चिति सुन आयात गर्न मात्र प्रयोग नगर्न र आफ्नो बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नागरिकलाई आग्रह गर्नुभएको थियो। भारतीय जनताले प्रधानमन्त्रीको कुरालाई गम्भीरतापूर्वक लिए। परिणामस्वरूप सुन आयात घट्यो र यसले स्वाभाविक रूपमा विश्वव्यापी सुनको मूल्यमा समेत प्रभाव पार्‍यो। त्यसैले प्रधानमन्त्रीले भारतीय जनतालाई धन्यवाद दिनुभयो।'

गोयलको यस्तो भनाइ प्रधानमन्त्री मोदीले शनिबार लखनउमा आयोजित एक कार्यक्रममा एक वर्षसम्म आवश्यकताबाहेक सुन खरिद नगर्न गरेको अपिलको प्रसंग उठाएको भोलिपल्ट आएको हो।

मोदीले एक वर्षअघि आफूले नागरिकलाई अनावश्यक सुन खरिद नगर्न आग्रह गरेको र त्यसलाई भारतीय जनताले सकारात्मक रूपमा लिएको बताएका थिए।

यो पनि पढ्नुहोस्

सुनको मूल्य प्रतिकिलो ६५ लाख घटेपछि मोदीलाई धन्यवाद दिँदै व्यापारीले लेखे पत्र

उनले पूर्वप्रधानमन्त्री लालबहादुर शास्त्रीले नागरिकलाई एक छाक खाना नखान गरेको अपिलसँग आफ्नो आग्रहको तुलना गरेका थिए।

मोदीले भनेका थिए, 'एक वर्षअघि मैले देशवासीलाई एक वर्षसम्म आवश्यक नभएसम्म सुन नकिन्न आग्रह गरेको थिएँ। लालबहादुर शास्त्रीले एक छाक खाना नखान आग्रह गर्दा जसरी देशवासीले उनको अपिल पालना गरेका थिए, अहिले पनि मेरो देशले त्यही भावना देखाएको छ। मैले कम सुन किन्न आग्रह गरेँ र देशवासीले कम सुन किने। त्यसपछि सुनको मूल्य घट्यो। आज मानिसहरू मलाई तपाईंले भन्नुभयो, हामीले तपाईंको सल्लाह मान्यौं र हाम्रो पैसा बचत भयो भनिरहेका छन्।'

यसअघि सन् २०२६ मे १० मा सिकन्दराबादमा आयोजित एक कार्यक्रममा पनि मोदीले पश्चिम एसियामा जारी द्वन्द्व र कच्चा तेलको बढ्दो मूल्यका कारण विदेशी मुद्रा सञ्चिति जोगाउन नागरिकलाई विभिन्न आग्रह गरेका थिए।

उनले सुन खरिद घटाउन, एक वर्षसम्म विदेश भ्रमण नगर्न, सम्भव भएसम्म घरबाटै काम गर्न, इन्धन बचत गर्न, स्वदेशी उत्पादन प्रयोग गर्न, खाना पकाउने तेलको खपत घटाउन र प्राकृतिक खेतीलाई प्रोत्साहन गर्न आग्रह गरेका थिए।

प्रकाशित: ६ मंसिर २०८३ १८:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App