काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव बुझ्न र पोस्टमार्टम प्रक्रिया अघि बढाउन पीडित परिवार सहमत भएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गृह प्रशासन, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएसँगै विगत तीन दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रोकिएको शव बुझ्ने प्रक्रिया अघि बढेको हो।
सहमति पत्रको सातौं बुँदा अनुसार पीडित परिवार तथा आफन्तजनको तर्फबाट मृतकको शव बुझिलिने र शव परीक्षण लगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग र सहजीकरण गरी सद्गत गर्ने जिम्मा लिइनेछ।
सहमतिपछि परिवारले शवको पोस्टमार्टम गरी अन्तिम संस्कारका लागि बुझ्ने तयारी गरेको छ।
सहमति अनुसार काठमाडौं महानगरपालिकाले मृतकको अन्तिम संस्कारका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था तथा काठमाडौंमा गरिने काजक्रियाको आवश्यक व्यवस्थापन गर्नेछ।
यसका साथै मृतकका एकाघरका परिवारजनको आतेजाते खर्च एवं काठमाडौंमा काजक्रिया अवधिभर रहँदा–बस्दा हुने सम्पूर्ण खर्चसमेत महानगरपालिकाले नै व्यहोर्ने सहमति पत्रमा उल्लेख छ।
मृत्यु प्रकरणको निष्पक्ष छानबिनका लागि सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ भने घटनाको दिन खटिएका महानगरका नगर प्रहरीहरूलाई छानबिन नसकिँदासम्म तत्कालका लागि निलम्बन गरिनेछ।
प्रकाशित: २८ असार २०८३ १८:५४ आइतबार





