जेन-जी आन्दोलनको क्रममा काठमाडौंमा ज्यान गुमाएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी सुलभराज श्रेष्ठ र आयुष थापाको परिवार पाँच दिनदेखि शवको प्रतीक्षामा छ।
घटनाको पाँच दिनसम्म पनि शव ल्याउन नसक्दा अभिभावक र आफन्त थप पीडामा परेका छन्, वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले बताए। ‘एउटै वडाका दुई होनहार युवालाई जेन-जी आन्दोलनमा गुमाउनुपर्दा सिंगो वडावासी शोकमा छ, यति दिनसम्म शवसमेत पाउन नसक्दा थप पीडा भएको छ,’ वडाध्यक्ष रिजालले भने।
नेपालगञ्ज–१ धम्बोझी निवासी १९ वर्षीय आयुष र २३ वर्षीय सुलभराजको गत २३ भदौमा जेन-जी आन्दोलनको क्रममा प्रहरीको गोली लागी ज्यान गएको थियो। फिनल्यान्ड जाने तयारीका लागि आयुष भर्खरै काठमाडौं गएका थिए। सुलभराज काठमाडौंको कान्तिपुर इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै थिए। वडाका दुई होनहार युवा गुमाउनुपर्दा सिंगो वडावासी नै शोकमा रहेको वडाध्यक्ष रिजालले बताए।
उनका अनुसार घटनाको जानकारी पाउनासाथ आयुषका बाबु सुशील थापा र सुलभराजका बाबु नरेन्द्र श्रेष्ठ काठमाडौं पुगे पनि छोराको शव घर ल्याउन सकेका छैनन्। छोराको शव घर ल्याउन नपाउँदा पीडामाथि थप पीडा थपिएको नरेन्द्रले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।
नेपालगञ्ज–१ नम्बर वडा कार्यालयले गत २४ भदौमा शोक विज्ञप्ति जारी गरी मृतकलाई श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको थियो। नेपालगञ्ज–१ का सुलभराज र आयुषको पार्थिव शरीरको आवश्यक मुचुल्का प्रक्रिया सम्पन्न भइसकेकाले अब छिटै आउने आशा गरिएको वडाध्यक्ष रिजालको भनाइ छ। रासस
प्रकाशित: २७ भाद्र २०८२ १५:०५ शुक्रबार





