१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

विदेशमा अनुभव देशमा वैभव

उद्यम

बिहानीको पहिलो किरण झुल्किँदा किसानहरू खेतबारीमा पुगिसकेका हुन्छन्। बिहानीको शीतमा खेतको चिसो माटोसँग उनीहरू खेलिरहन्छन्। त्यही माटोमा हुर्किएको एउटा मान्छे आज ‘मिल्क आर्ट’ नामको प्रिमियम फुड ब्रान्डको अगाडि उभिएको छ।

तर यो कथा कुनै रातारात बनेको सफलताको होइन। यो त किसानको जीवन, मान्छेको संघर्ष र आफ्नै देशमै केही गर्नुपर्छ भन्ने साहससँगै धैर्यको कथा हो।

किसान परिवारमा जन्मिएका संखुवासभाका ३८ वर्षीय विमल न्यौपाने आफैंमा एक उद्यमी हुन्। हजुरबुबा, बुबा र काकाहरू सबै खेतीपाती तथा पशुपालनमै व्यस्त भइरहँदा उनी पनि अघिपछि गरिरहन्थे। उनको बाल्यकाल खेत, गाईभैंसी, दुध र दहीकै पोखरीमा बित्यो।

बिहान सबेरै बाबुआमासँग उठेर काममा लाग्नु, पसिनाले भिज्नु र साँझ थाकेर घर फर्किनु उनको बाल्यकालको जीवनी थियो। उनले किसानको परिश्रमलाई सानैदेखि बुझ्दै आएकै कारण आज उद्यमी भएको बताउँछन्।

‘मेरो बाल्यकाल आमाबुबाले काम गर्दै गरेको खेतबारीमै बित्यो,’ उनले भने, ‘त्यसैले माटोमा बगाएको पसिनाको मूल्य मलाई थाहा छ। किसानको जीवन सजिलो हुँदैन।’

करिब २० वर्षसम्म गाउँमै बसेर माटोसँगको सम्बन्ध उनले चिनेको बताउँछन्।

त्यही माटोमा हुर्किएका न्यौपानेको हातमा आज ‘मिल्क आर्ट’ लेखिएको प्याकेट छ तर त्यो प्याकेटभित्र केवल दही, त्यसको स्वाद मात्रै छैन, त्यसभित्र किसानको पसिना, परिवारको संघर्ष, विदेशी अनुभव र आफ्नै देशमा केही गर्नुपर्छ भन्ने एउटा मान्छेको संघर्ष मिसिएको छ।

‘बाल्यकालमा मैले देखेको जीवन सजिलो थिएन,’ उनी सम्झिन्छन्, ‘तर त्यही दुःखले मलाई श्रमको मूल्य र इमानदारीको अर्थ सिकाएको छ।’

काठमाडाैंस्थित कागेश्वरी, मनाेहरा- ८ मा खाेलिएकाे विमलको मिल्क आर्ट एक विशेष दही प्रशोधन कम्पनी हो। जसले स्वस्थ गाईबाट प्राप्त ताजा दुधमा केवल ल्याटिक एसिड ब्याक्टेरियाको प्रयोग गरी स्वास्थ्यवर्धक दही बनाउने गरेको उनले नागरिकसँग सुनाए।

यो उद्योग परम्परागत अनुभव र आधुनिक प्रविधिको संयोजनमा आधारित छ। जहाँ स्वाद, स्वच्छता र स्वास्थ्यलाई विशेष प्राथमिकता दिने गरेको उनी बताउँछन्।

जिन्दगी अघि बढ्दै गर्दा आफूले सरकारी सेवामा प्रवेश गरेको पनि बताउँछन्। सरकारी रोजगारीले व्यवस्थापन, उत्तरदायित्व र प्रणालीगत काम गर्ने संस्कार सिकाएको उनले बताए।

‘मेरो सरकारी जागिर थियो। त्यसमा काम गरेको करिब ६ वर्ष पूरा भएको थियो। पछि एकाएक प्रश्न उब्जियो। के म यही काममा सीमित हुने मान्छे हुँ? सुरक्षित त थियो जागिर, तर मन सन्तुष्ट थिएन,’ उनले भने, ‘मेरो मन अझै पनि गाउँकै माटो, दुधको गन्ध र उत्पादनको श्रमसँग गाँसिएको थियो। २५/२६ वर्षपछिदेखि उनी वैदेशिक रोजगारीका लागि विभिन्न देश लगायत दक्षिण कोरियातिर डोरिएको बताउँछन्।  

खाद्य उद्योगमा स्वच्छता व्यवस्थापन, गुणस्तर नियन्त्रण र प्रणालीगत उत्पादनको महत्त्व उनले विदेशमै रहँदा नजिकबाट बुझ्ने मौका पाएका थिए। ‘विदेशी बसाइको अनुभवले मलाई एउटा कुरा झन् स्पष्ट बनायो, खाना भनेको केवल पेट भर्ने वस्तु होइन रहेछ। यो त स्वास्थ्य, विश्वास र जिम्मेवारीको विषय हो भन्ने पाठ सिकायो,’ नागरिकसँग उनले भने, ‘तर विदेशमा सिक्दै जाँदा एउटा पीडा पनि चर्किंदै गयो। हामी नेपालीले आफ्नै देशमा मेहनतसाथ किन काम गर्न सक्दैनौं?’ यही प्रश्नले आज आफूलाई उद्यमी बनाएको बताउँछन्।

उनका अनुसार विदेशबाट फर्किएपछि ‘मिल्क आर्ट एन्ड फुड प्रोडक्टस प्रालि’ स्थापना गरे। सोही यात्रामा उनले विक्रम उचाइको साथ पाए। दक्षिण कोरियामा झन्डै  १२ वर्ष काम गरेर फर्किएका विक्रमसँग मिठो अनुभव रहेको उनी बताउँछन्।  

एक किसानको माटोबाट आएका विमल र अर्का अन्तर्राष्ट्रिय उद्योगबाट फर्किएका विक्रम, यी दुई धार मिलेर ‘मिल्क आर्ट’ जन्म भएको बताउँछन्।

उद्यमी विमलका अनुसार प्याकेजिङ फुड खराब हुन्छ भन्ने सोच प्रायः मानिसमा हुने गरेको छ। यो बजारका लागि गहिरो अविश्वास हो। ‘घरको जस्तो खाना बाहिर हुँदैन। प्याकेजिङ फुड स्वास्थ्यका लागि राम्रो हुँदैन भन्ने सोचलाई चिर्न हामी अगाडि बढेका हौं,’ विमलले भने, ‘घरजस्तै सुरक्षित, स्वच्छ र प्राकृतिक खाना पनि जिम्मेवार ब्रान्डिङ मार्फत बजारमा ल्याउन सकिन्छ।’

त्यसैले कच्चा पदार्थ छनोटदेखि उत्पादन, गुणस्तर नियन्त्रण र प्याकेजिङसम्मको सबै प्रक्रिया घरको खानाको दर्शनमा आधारित बनाएको उनले सुनाए।

‘बजार बजारमा मिल्क आर्ट भव्य रूपमा वितरण भइरहेको छ। साथै उपभोक्ताको प्रतिक्रिया पनि सकारात्मक छ,’ विमलले नागरिकसँग भने, ‘तर त्योभन्दा ठुलो उपलब्धि अरू नै हो। यस उद्योगले स्थानीय किसानको दुधलाई बजार दिएको छ। स्थानीय युवालाई सानोतिनो रोजगारी दिएको छ।’

नेपालमै पनि सम्भव छ भन्ने विश्वासलाई बिस्तारै मजबुत बनाइरहेको उनी बताउँछन्।

‘यो उद्योग मात्र होइन, यात्रा पनि हो। मिल्क आर्ट केवल एउटा फुड ब्रान्ड होइन, यो किसानको माटोको सम्मान हो। यो श्रमको मूल्य चिन्न सक्ने दृष्टि हो। यो विदेश जानैपर्छ भन्ने बाध्यतासँग गरिएको मौन विद्रोह हो,’ उद्यमी विमलले सुनाए।

विमल र विक्रमको कार्य सफलताको चम्किलो उदाहरण हो। दुःखबाट उठेर सम्भावना बनाउने एउटा साधारण मान्छेको असाधारण साहस हो। यही कारणले ‘मिल्क आर्ट’को स्वाद दहीभन्दा पनि मान्छेको संघर्षले भरिएको छ।

द ब्रिज इन्टरनेसनल (टिबिआई) ले रिटर्नी इन्नोभेटर्स फर नेपाल (आरआइएन) कार्यक्रम गर्दै कोरियाबाट फर्केका नेपालीलाई उद्यमशील क्षमता अभिवृद्धि गर्न सहयोग पुर्‍याउँदै आएको छ।

एक वर्ष लामो उद्यमशीलता शिक्षा यात्रा सम्पन्न गरेर कोरियाबाट फर्किएका १० जना नेपाली युवाले आफ्नो सिपलाई व्यवसायमा रूपान्तरण गर्दै व्यापार पिच प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए।

आफ्ना व्यावसायिक अवधारणा र आगामी योजनासमेत सार्वजनिक गर्नेमा विक्रम पनि एक थिए। उनले पनि रिर्टनी इनोभेटर फर नेपाल प्रतियोगितामा भाग लिएका थिए।

यो कार्यक्रमले कोरियाबाट फर्किएकाहरूलाई महत्त्वपूर्ण सहयोग प्रदान गर्दै आएको छ। उनीहरूलाई आप्रवासी कामदारबाट सफल उद्यमीका रूपमा रूपान्तरण गर्न सशक्त बनाउँदै नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउनु प्रमुख उद्देश्य रहेको जानकारी ब्रिज इन्टरनेसनलका सिइओ जिनसोल ह्वाङले दिए।

कोइका कोरियाको सरकारी निकाय हो, जसले अन्तर्राष्ट्रिय विकासका लागि अनुदान सहायता र प्राविधिक सहयोग प्रदान गर्दै आएको छ। कोइकाले सन् २०२२ देखि कोरियाबाट फर्केकाहरूको उद्यमशीलताको सपनालाई वास्तविकतामा परिणत गर्न विभिन्न काम गर्दै आएको छ।

प्रकाशित: ५ पुस २०८२ ०७:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App